पूर्वडाँकुले बाँड्दै छन् अध्यात्मिक ज्योति



नेपाल समाचारपत्र, बाँके
सोले फिल्मका भिलेन गब्बरजस्तै । उनको नाम सुन्ने बित्तिकै मानिसहरु काम्थे । रोएका बच्चा चुप हुन्थे रे । १४ वर्षसम्म डाँकुका सरदार भएर जंगल बसे उनी । ५ सय ५६ जना डाँकुको नेतृत्व गरे । तिनै डाँकुका सरदार भारतीय नागरिक पञ्चम सिंहले नेपालका विभिन्न ठाउँमा पुगेर अध्यात्मको ज्योति बाल्दै हिडेका छन् ।

ब्रम्हकुमारी ईश्वरी विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र, नेपालगञ्जले धम्बोझीचोकमा आयोजना गरेको साक्षत्कार एवं स्नेह मिलन कार्यक्रममा पूर्व कुख्यात डाँकु सिंहले सही माग समात्न सबैलाई आग्रह गर्नुभयो । पूर्व डाँकु सिंहले १४ वर्षसम्म गरेको गल्तीको परमात्मासँग क्षमा माग्नुभयो ।

५ सय ५६ जना डाँकुको सरदार सिंहले भारतका विभिन्न ठाउँमा १४ वर्षसम्म आतंक मच्चाएको थिए । सन् १९७२ मा तत्कालिन प्रधानमन्त्री इन्दिरा गान्धीले डाँकुहरुलाई आत्मसमर्पण गर्न आग्रह गर्नुभयो । सिंहले आत्मसमर्पण गर्नुभयो । उनलाई जेलमा राखियो । फाँसीको सजाय भयो । पछि जन्मकैदमा झारियो ।

जेलमा रहेका डाँकुहरुलाई सुधार्न प्रधानमन्त्री गान्धीले भर्खर भर्खर स्थापना भएको ब्रम्हकुमारी विश्वविद्यालयलाई आग्रह गर्नुभयो । विश्वविद्यालयको टोलीले तीन वर्षसम्म जेलमा डाँकुहरुलाई आध्यात्मिक बाटो सिकायो । अन्ततः सय जना हत्याका आरोपी, डाँकुका सरदार, समात्नेलाई सरकारद्वारा दुई करोड पुरस्कार घोषणा भएका सिंह सुध्रिनुभयो । आठ वर्षमै उहाँको जन्मकैद माफ भयो । सिंह सुध्रिएपछि धेरै डाँकुहरु सुध्रिए । भारतकी चर्चित डाँकु फूलनदेवीले पनि समर्पण गरेको सिंहले जानकारी दिनुभयो ।

प्रतिशोधको भावनाबाट प्रेरित भई डाँकु बनेका र भारतका ५ सय ५६ जना डाँकुको सरदार, सय हत्याका आरोपी सिंहले मध्यप्रदेश, उत्तर प्रदेश, राजस्थान, गुजरात, खास चम्बलको घाँटी पहाडी क्षेत्रमा हत्या, हिंसा, अपहरण र डकैती गरी आतंकित बनाएका थिए ।
त्यही डाँकुले आज आध्यात्म बाँड्दै हिडेका छन् । नराम्रो बाटोमा नलाग्न सबैलाई सम्झाएका छन् । राजयोगी बनेर ४६ वर्षदेखि देश विदेशमा आध्यात्माको ज्योति बाल्ने कार्यमा निरन्तर अघि बढेका छन् ।

केन्द्रकी प्रमुख दुर्गा दिदी, पत्रकार पूर्णलाल चूके, नेपाली कांग्रेसकी जिल्ला सभापति किरण आचार्यले आध्यात्मिक बाटो समात्ने मान्छेले समाजलाई राम्रोतिर लैजान सक्ने बताउनुभयो । बाटोमा आयोजित कार्यक्रममा ब्रम्हकुमार आशिष भाईले दाँतले बसलाई तानेर देखाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्