अलपत्र तीर्थालु उद्धारमा सहयोग गर्न भारतको आग्रह



नेपाल समाचारपत्र, काठमाडौं
कैलाश–मानसरोवर तीर्थयात्रामा गएका आफ्ना मुलुकका तिर्थालु स्वदेश फर्कन नसकेपछि भारतले उद्धारमा चासो लिएको छ । निरन्तरको वर्षासँगै मौसम धुमिएर भारतीय यात्रु फर्कन नसकेपछि भारतले उद्धारमा आग्रह गरेको हो ।

आइतवार अपरान्ह्रदेखि नेपालगञ्ज–हुम्ला हवाई उडान नभएपछि नेपाली तिर्थालु समेत रोकिएका छन् । मौसम प्रतिकूल हुँदा नेपाल र तिब्बततर्फ १ हजार ५ सय भन्दा बढी भारतीय तिर्थालु अलपत्र परेका भारतीय विदेशमन्त्री सुष्मा स्वराजले बताउनु भएको छ । घटनाबारे सरकार र काठमाडौंस्थित भारतीय दूतावासलाई ध्यानाकर्षण गराउँदै उहाँले उद्दार र अन्य सहयोगका लागि आग्रह गर्नु भएको हो ।

यो विषयमा गहिरो चासो व्यक्त गर्दै स्वराजले मंगलबार ६ पटक ट्वीट गर्नु भएको छ । ‘नेपाल सरकार, नेपाली सेना र सैन्य हेलिकप्टर मार्फत तीर्थयात्री उद्दारका लागि आग्रह गरिएको छ’–उहाँले ट्वीटमा उल्लेख गर्नु भएको छ । मन्त्री स्वराजका अनुसार हुम्लाको सीमीकोटमा ५ सय २५, नेपाल–चीन सीमा क्षेत्र हिल्सामा ५ सय ५० र तिब्बततर्फ ५ सय तीर्थालु अलपत्र परेका छन् ।

मन्त्री स्वराजले घटनाबारे परराष्ट्र मन्त्रालयलाई अवगत गराउनु भएको र उद्दार अन्य सहयोगका लागि पहल अघि बढाइएको सो मन्त्रालयका सह–सचिव एवं भारत डेक्स प्रमुख भृगु ढुंगानाले बताउनुभयो । ‘गृह मन्त्रालय र हुम्लाका प्रमुख जिल्ला अधिकारी मार्फत समग्र वस्तुस्थिती बुझिरहेका छौ, मौसम सुधार भए लगत्तै उद्दार प्रकृया अघि बढ्ने छ’–उहाँले भन्नुभयो ।

स्वास्थ्य परीक्षण, खाद्य सामग्री र अन्य आवश्यक सामग्री वितरणको पहल अघि बढाइएको ढुंगानाले बताउनुभयो । तिर्थालुसँगको सञ्चार सम्पर्कका लागि तामिल, तलेगु, कनाडा, मलयाम लगायतका भाषाको हटलाइन सुविधाका लागि नेपाली टेलिफोन नम्बर स्वराजले सार्वजनिक गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्