किर्ते कागजात पेश गरी सवारी चालक अनुमतिपत्र बनाउने पक्राउ

0
Shares

काठमाडौं ।
विदेशबाट जारी भएको सवारी चालक अनुमतिपत्रलाई नेपालीकरण गर्ने क्रममा किर्ते कागजात पेश गरी सवारी चालक अनुमतिपत्र प्राप्त गर्ने ३ जना र उक्त कार्यमा बिचौलियाको भूमिका निर्वाह गर्ने ४ जना सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सवारीचालक अनुपतिपत्र बनाउन दिनेहरु काठमाडौं महानगरपालिका पेप्सीकोला बस्ने ३३ बर्षीय आङकुसाङ शेर्पा, डाँछी नयाँपाटी बस्ने ३० बर्षीय अमित पुर्पेटी, काठमाडौं महानगरपालिका(६ बौद्ध बस्ने ४६ वर्षीय लछु लामा तथा सवारीचालक अनुमतिपत्र बनाउन सहयोग गर्नेहरु काठमाडौं महानगरपालिका(८ जोरपाटी बस्ने ६१ बर्षीय श्रीप्रसाद बुढाथोकी, सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका(५ बस्ने २४ वर्षीय नोर्बु लामा, काभ्रे ईन्द्रावती गाउँपालिका बस्ने सिन्धुपाल्चोक सिम्पालका ४१ वर्षीय जर्सिङ तामाङ र काठमाडौं चन्द्रागिरी नगरपालिका(४ सितापाईला बस्ने ५२ वर्षीय रामचन्द्र गौतम रहेका छन् ।

प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको टोलीले उनीहरुलाई सोमबार र आइतबार महाराजगंज, जोरपाटी तथा चावहिलबाट पक्राउ गरेको हो । उनीहरु उपर सरकारी छाप दस्तखत किर्ते मुद्धामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।