एचआईभी कोषको गणना मेसिन हस्तान्तरण



अमृत अर्याल
स्याङ्जा । वालिङ प्रथामिक स्वास्थ्य केन्द्रलाई एचआईभी संक्रमितको कोषको गणना तथा लेखाजोखा देखाउने मेसिन हस्तान्तरण गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौका बरिष्ठ टेक्नोलोजी भुपराज राईले प्रथामिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर अनिता पुनलाई मेसिन हस्तान्तरण गर्नुभएको हो । एचआईभी संक्रमितको कोषको परिक्षणका लागि जिल्ला अस्पताल वा पोखरा जानुपर्ने बाध्यता थियो । यन्त्र हस्तान्तरण भएपछि अव एचआईभी संक्रमित बाहिर जान नपर्ने भएको प्रथामिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर पुनले बताउनुभयो ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्यालको पहलमा यो मेसिन वालिङमा आएको हो । सम्भवत प्रथामिक स्वास्थ्य केन्द्रमा नेपालभरीकै पहिलो सेवा वालिङ हुने बताइएको छ । एचआईभी संक्रमितको जोखिममा रहेको स्याङ्जालाई यो मेसिनको प्रयोगले तत्कालै धेरैको ज्यान बच्न सक्ने चिकित्सकहरुको भनाई छ । एकै दिनमा करिव ८० जना विरामीको कोषको गणना गर्न सकिने क्षमता मेसिनको रहेको छ । अहिले सम्म वालिङ प्रथामिक स्वास्थ्य केन्द्रमा ९ वालवालिका सहित १ सय ७० जनाले एचआईभी संक्रमितमा नाम दर्ता गराएका छन् भने १ सय ५२ जनाले एआरटी औषधी सेवन गर्दै आएको स्वास्थ्यकर्मी उदयबहादुर पौडेलले बताउनुभयो ।
कामको खोजीमा बाहिर गएका श्रीमानहरुबाट एचआईभीको संक्रमणको समस्या झेल्दै आएका र अन्य पनि जोखिममा रहेका संक्रमितहरु धेरै भएको चिकित्सकहरुले बताएका छन् । अधिकांश एचआईभी संक्रमणमा महिला रहेको तथ्याङक देखिएको छ । अर्को तर्फ वालिङ प्रथामिक स्वास्थ्य केन्द्रमा कुल्टर काउन्टर मेसिन पनि हस्तान्तरण गरिएको छ । यसबाट रगतमा भएको सम्पूर्ण रक्तकोषको गणना तथा जाँच अत्याधुनिक प्रविधिबाट परिक्षण गर्न पाईने भएको छ । रगत परिक्षणका लागि पुरानो विधिबाट परिक्षण गर्दा घण्टौ कुनुपर्ने विरामीहरुले अव ५ मिनेटमा नै आफ्नो रगत परिक्षण गर्न सकिने स्वास्थ्य केन्द्रले जनाएको छ ।
जिल्ला अस्पताल सदरमुकाममा भन्दा बढी विरामीको चाप हुने वालिङ्मा दुई मेसिन आएपछि स्वास्थ्य परिक्षणमा सहजता मिल्ने स्वास्थयकर्मीहरु बताउछन् । यस स्वास्थ्य केन्द्रबाट पर्वत, तनहु, गुल्मी , पाल्पा र स्याङ्जाको आधा भन्दा बढी क्षेत्रका विरामीहरुले स्वास्थ्य सेवा लिदै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्