नेपाल समाचारपत्र, काठमाडौं । विनियोजन विधेयक, २०७५ का विभिन्न शीर्षकमाथि बुधबारबाट छलफल शुरु भएको छ ।
आइतबारबाट नै छलफल थाल्ने संसद् सचिवालयको तयारी भए पनि मन्त्रालयगत बजेटको पुस्तक नछापेका कारण बैठक कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको थियो ।
बुधबार सञ्चार तथा सूचना प्रविधि, खानेपानी, कृषि, भूमि व्यवस्था तथा सहकारी र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय अन्तर्गत विनियोजन विधेयकमाथि छलफल भएको थियो ।
आज बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, युवा तथा खेलकुद र खानेपानी मन्त्रालयको विनियोजन विधेयकको विभिन्न शीर्षकमा छलफल हुँदै छ । असार ४ गतेसम्म छलफल सकेपछि ७ गतेबाट ३ दिनसम्म सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यतालिका रहेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित २१ मन्त्रालयका साथै राष्ट्रिय योजना आयोगको सचिवालय र राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयलाई छुट्याइएको विनियोजन विधेयकको विभिन्न शीर्षकमाथि छलफल हुँदै छ ।
राष्ट्रिय योजना आयोगको सचिवालय र राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको जवाफ प्रधानमन्त्रीले दिनुहुने छ । प्रधानमन्त्री आयोगको सचिवालयको अध्यक्ष रहनुहुनेछ । शनिबारबाहेक प्रत्येक दिन ११ बजेबाट ५ घण्टाको दरले छलफल हुने तालिका छ । पहिलो दिन ४ मन्त्रालयको, दोस्रो दिन ३, तेस्रो दिन ४, चौथो दिन ४, पाँचांै दिन ३ र अन्तिम दिन २ मन्त्रालयसहित प्रधानमन्त्री कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालय र राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विनियोजन विधेयकको बारेमा छलफल हुनेछ । पहिलो दिन र दोस्रो दिन ८÷८ मन्त्रालयको जवाफ मन्त्रीले दिनेछन् भने अर्को दिन छलफल र जवाफ दिने क्रम सकिनेछ ।
संयुक्त बैठक ४ गते संघीय संसद्को संयुक्त बैठक असार ४ गते सोमबार बस्ने सम्भावना रहेको छ ।
गत सोमबार बस्ने भनिएको संयुक्त बैठक विशेष कारणवश भन्दै अन्तिम समयमा स्थगित गरिएको थियो । बैठक स्थगित गरेपछि प्रतिनिधि सभा र राष्ट्रिय सभाबीच असार ३ गते संयुक्त बैठक बोलाउने लगभग सहमति भएको थियो ।
नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले पनि ३ गते बैठक बोलाउने गरी त्यो दिन सामान्य टुंगो लागेको बताउनुभयो । संघीय संसद्को संयुक्त बैठकले संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०७५ पारित गर्नुपर्ने हुन्छ । संयुक्त बैठक सञ्चालन कार्यविधि र साझा समिति र कतिपय निर्णय संघीय संसद्को कार्यक्षेत्रभित्र पर्दछन् ।
प्रतिनिधि सभाको बुधबार प्रकाशित सम्भावित कार्यसूचीमा मंगलबारको कार्यसूची छैन । समाचार स्रोतका अनुसार त्यही दिन संयुक्त बैठक बस्ने सम्भावना छ । राष्ट्रिय सभाको बैठक असार ३ गते ११ बजे बोलाइएको छ ।











प्रतिक्रिया