प्रमको चीन भ्रमण मिति तय

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आगामी असार ५ देखि १० गतेसम्म छिमेकी मुलुक चीनको औपचारिक भ्रमणमा जाने कार्यतालिका तय भएको छ । चिनियाँ समकक्षी ली खछ्याङको औपचारिक निमन्त्रणमा उहाँ चीन प्रस्थान गर्ने तयारीमा जुट्नुभएको हो ।

परराष्ट्र मन्त्रालयले बुधबार प्रधानमन्त्रीको भ्रमणको मिति, भ्रमण दलका सदस्य र प्रारम्भिक तालिका सार्वजनिक गरेको हो । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले समकक्षी लीसँग औपचारिक भेटवार्ता गर्ने र यस क्रममा केही महत्वपूर्ण सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने भनिए पनि विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।

प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमा चीनसँग भएका द्विपक्षीय सम्झौता कार्यान्वयनमा भ्रमण केन्द्रित रहने परराष्ट्र स्रोतले जनाएको छ ।
आफ्नो मुलुकले अघि सारेको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ्स्’ परियोजनामा नेपालको प्राथमिकताका आधारमा सहयोग गर्ने यसअघि नै चीनले बताइसकेको छ । नेपालले गत वर्ष नै यो परियोजनामा हस्ताक्षर गरिसकेको छ ।

यो भ्रमणका क्रममा चीन हुँदै नेपालतर्फ रेलमार्ग विस्तार, ऊर्जा, व्यापार, पारवहन, अन्तदेशीय विद्युत् प्रसारण लाइन, अवरुद्ध रहेको तातोपानीसहित अन्य नाका खुलाउने बारेमा सहमति हुने बताइएको छ । तातोपानीस्थित मितेरी पुल र रसुवागढीमा स्याफ्रुबेँसीजोड्ने पुल निर्माणको प्राविधिक र आर्थिक सहयोगसम्बन्धी सम्झौता गर्नेबारेमा गत आइतवारको मन्त्रिपरिषद्को बैठकले अनुमोदन गरेको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनको राजधानी बेजिङमा नेपाल चीन बिजनेस फोरम र विज्ञहरुलाई सम्बोधन गर्नुहुने छ भने स्वदेश फर्किने क्रममा तिब्बतको ल्हासामा प्रान्तीय अधिकारीसँग पनि द्विपक्षीय भेटवार्ता गर्ने कार्यतालिका तय भएको छ ।

भ्रमण टोलीमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, ऊर्जामन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ सहभागी हुने बताइएको छ । नेपालमा चिनियाँ लगानी भित्र्याउने बारेमा नेपाली उद्योगी व्यवसायी र सो मुलुकका व्यवसायीबीच महत्वपूर्ण सम्झौता हुने बताइएको छ ।