ब्राजिलको उपाधि रक्षामा चम्के गरिन्चा

0
Shares

सन् १९६२ विश्वकपको उपाधि जितेर ब्राजिल लगालग दोस्रो पटक उपाधि विजेता बन्यो। दक्षिण अमेरिकी महादेश चिलीमा भएको सातौं विश्वकप जितेर ब्राजिलले उरुग्वे र इटलीसँग २ पटक विश्वकप जित्ने कीर्तिमानसँग बराबरी ग¥यो। लगातार २ पटक विश्वकप जिते पनि ब्राजिल इटलीपछि दोस्रो राष्ट्र बन्यो।

दोस्रो पटक फाइनल खेले पनि चेकोस्लोभाकिया ब्राजिलसँग ३–१ ले निराश भयो। १६ राष्ट्र सम्मिलित यस प्रतियोगितामा ३२ म्याचमा कुल ८९ गोल भएको थियो। प्रतियोगिताअन्तर्गत इटली र आयोजक चिलीबीच भएको खेल ब्याटल अफ सान्टियागोबाट चर्चित बन्यो। उक्त खेलमा चिलीले इटालीलाई २–० ले पराजित गरेको थियो।

यता ब्राजिलले उपाधि रक्षा गर्दा गरिन्चा र भाभा भने महŒवपूर्ण खेलाडी बने। यी दुवैले प्रतियोगिताभरि सर्वाधिक ४÷४ गोल गरे। भाभाभन्दा पनि मानुएल फ्रान्सिस्को डस सान्तोस गरिन्चा आफ्नो कलात्मक फुटबल खेल कौशलका लागि प्रख्यात बने। उनी बल ड्रिब्लिंगमा कुशल तथा प्राप्त मौकामा गोल गर्न खप्पिस खेलाडी थिए। सन् १९६२ को विश्वकपमा ब्राजिलका सर्वकालीन महान् खेलाडी पेले घाइते भएको अवस्थामा गरिन्चाले अभाव मेटेका थिए।

सन् ६० को दशकमा पेले र गरिन्चाको जोडीसहितको ब्राजिलियन टोलीलाई हराउन अन्य टोलीका लागि फलामको च्युरा चपाउनुसरह बनेको थियो। जन्मेदेखि नै दायाँ खुट्टाको तुलनामा बायाँ खुट्टा सानो भए तापनि आफ्नो क्षमताले उनले फुटबल जगत्मा उदाहरणीय खेलाडीको परिचय बनाए। उनको योगदानको कदर गर्दै ब्राजिलको रंगशाला स्टाडियो नासियोनल डी ब्रासिलिया मने गरिन्चा यिनै खेलाडीबाट नामाकरण गरिएको हो।