सन्दीपले क्यानडामा खेल्ने

0
Shares

काठमाडौं, (नेस)
नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा खेलाडी सन्दीप लामिछानेले क्यानडाको ग्लोबल टि–२० प्रतियोगितामा खेल्ने भएका छन्।

उनी क्यानडाको मोन्ट्रेल टाइगर्सबाट खेल्ने भएका हुन्। आइतबार भएको प्लेअर ड्राफ्टमा सन्दीपलाई छैटौं चरणमा मोन्ट्रेलको टोलीले खरिद गरेपछि उनले क्यानडामा खेल्ने पक्का भएको हो। ६ टोलीको सहभागिता रहने प्रतियोगिता जुनको अन्तिम साताबाट शुरु हुनेछ।

सन्दीपको टोलीबाट हालसम्म श्रीलंकाका लासिथ मालिंगा, वेस्ट इन्डिजका सुनिल नारायण, श्रीलंकाकै थिसारा परेरा, पाकिस्तानका मोहमद हफिज, वेस्ट इन्डिजका दिनेश रामदिन, जिम्बाबेका सिकन्दर राजालगायतका खेलाडी रहेका छन्। वेस्ट इन्डिजको एक टोलीबाहेक टोरोन्टो नेसनल्स, भ्यानकुभर नाइट्स, एडमन्टन रोयल्स र विनिपेग हक्स रहेका छन्। इन्डियन प्रिमियर लिग आइपीएल खेल्ने पहिलो खेलाडी बनेर चर्चित भएका सन्दीपले तीन दिनअघि मात्र लर्ड्समा आईसीसी विश्व–११ बाट च्यारिटी म्याच खेल्दै टी–२० इन्टरनेसनलमा डेब्यु गरेका थिए।

क्यानडामा हुने लिग सन्दीपका लागि तेस्रो फ्रेन्चाइज प्रतियोगिता बन्नेछ। आईपीएलको ११औं संस्करण खेलेका सन्दीपले आगामी अगस्टमा क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्नेछन्। उनी क्रिस गेलको टिम सेन्ट नेभिस एन्ड किट्समा अनुबन्ध भइसकेका छन्।