किमसँग भेट्न सिरियाली, राष्ट्रपति असद उत्तर कोरिया जाने

0
Shares

सोल, (एजेन्सी)
उत्तर कोरियाली सर्वोच्च नेताले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सिंगापुरमा शिखर वार्ता गर्नु केही दिनअगाडि अर्का नेता सिरियाली राष्ट्रपति बसर अल असदसँग भेट्ने योजनामा रहेको खुलासा गरेका छन्।

असदले किमसँग भेटवार्ता गर्न उत्तर कोरियाको भ्रमण गर्ने बताइएको छ। उत्तर कोरियाको समाचार एजेन्सी केसीएनले दिएको उक्त समाचारमा तिथि भने खुलाइएको छैन। सिरियाली सञ्चार माध्यमले पनि अहिलेसम्म उक्त प्रस्तावित भ्रमणबारे उल्लेख गरेको छैन। यदि प्योङयाङमा दुईबीच भेटवार्ता भएमा किमसँग राजधानीमा भेट्ने असद पहिलो विश्व नेता हुनेछन्। किमलाई लिएर अन्तर्राष्ट्रिय कूटनीति घनिभूत भइरहेको बेला असदको भ्रमण घोषणा भएको हो।

किमले हालैका महिनामा मात्रै दुई देशलाई छुट्याउने असैनिकृत क्ष्ँेत्रमा दक्षिण कोरियाली राष्ट्रपति मुन जेइ इनसँग भेटवार्ता गरेका थिए। त्यसै गरी चर्चित रेल यात्रा गरी चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका थिए। गत हप्तामात्रै किमले रुसी विदेशमन्त्री सर्गेइ लावरोभसँग प्योङयाङमा भेटेका थिए। शुक्रबार ट्रम्पले पूर्वउत्तर कोरियाली गुप्तचर प्रमुखलाई जुन १२ मा आफू किमसँग भेट्ने बताएका थिए। विगत १८ वर्षमा अमेरिका भ्रमण गर्ने उनी उत्तर कोरियाका उच्च पदस्थ अधिकारी हुन्। सन् २०१५ मा सिरियाली सरकारले राजधानी दमास्कसस्थिति एक पार्कको नाम किम इल सुंग राखेको थियो।