राजधानीलाई हरियाली बनाउने अभियान फेरि शुरू

0
Shares

ईश्वरराज ढकाल, काठमाडौँ

काठमाडौं महानगरपालिकाले राजधानीको विभिन्न क्षेत्रमा २१ प्रजातिका वृक्षारोपण गर्ने भएको छ। विश्व वातावरण दिवसको हरित शहरको परिकल्पनासहित सबै सामुदायिक विद्यालय सरकारी तथा गैर सरकारी निकायमा गरी ५ फिट अग्लो बिरुवा रोप्न लागिएको हो । साना बिरुवा हुर्कन समय लाग्ने भएकाले ५ फिट अग्ला बिरुवा रोप्न लागिएको कामपाले जनाएको छ । कामपा वातावरण विभाग प्रमुख हरि कुवँरले वन विभाग र जिल्ला वन कार्यालयको सिफारिसमा काठमाडौंको हावापानी सुहाउँदो २१ प्रजातिका वृक्षरोपण गर्न लागिएको जानकारी गराउनुभयो ।

सबै बिरुवा भोलि जुन ५ अर्थात जेठ २२ गते विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षरोपण गर्न लागिएको हो । महानगर क्षेत्रभित्र पर्ने ९२ सामुदायिक विद्यालय, ३२ वटा वडा कार्यालय, महानगरको मातहतमा पर्ने विभाग, शाखा र विभिन्न सडक किनारामा वृक्षरोपण गर्न लागिएको हो। विभागीय प्रमुख कुवँरले विद्यालय वा कार्यालयमा बगैंचा भए बगैंचा र बगैंचा नभए गमलामा भए पनि वृक्षारोपण गर्न सबै निकायलाई पत्राचार गरिसकेको जानकारी दिनुभयो।

उहाँका अनुसार काठमाडौंमा पारिजात, कोइरालो, टाकी, शिरीष, धुपी, गोल्डेन धुपी, पंैयु, बेगम्बेली, असारे, करविर, चेरी, चाँप, कल्की, समी, राजवृक्ष, जामुन, पारिजातलगायतका वृक्षारोपण गर्न लागिएको हो । विगतमा पनि बिरुवा रोपिए पनि तिनको संरक्षण गर्न नकसेर अलपत्र परेका कारण यो वर्ष सबै बिरुवालाई सम्बन्धित निकायले नै संरक्षण गर्ने जिम्मेवारीसहित ५ फिट अग्ला वृक्षारोपण गर्न लागिएको कामपाले जनाएको छ ।

सबै बिरुवाको अभिलेखीकरण गर्ने गरी वृक्षारोपण गर्न लागिएको हो । कामपाका मेयर विद्यासुन्दर शाक्यले महानगर क्षेत्रलाई हरित शहर बनाउने योजनाका साथ वृक्षारोपण कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाइएको जानकारी दिनुभयो। विभागीय प्रमुख कुवँरले यो वर्ष राजधानीका विभिन्न सडक किनारामा वृक्षारोपण गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो ।

सडक विस्तार भएका सडक किनारामा, पार्क, महानगरले पहिचान गरेका खुला क्षेत्रलगायत अधिकांश खालि स्थानमा ५ फिट अग्ला बोटबिरुवा रोप्ने योजना रहेको जानकारी गराउँदै उहाँले भन्नुभयो– ‘यो वर्ष महानगरका अधिकांश क्षेत्रलाई हरियाली बनाउनेछौं।’ उहाँले वातावरण दिवसका दिन रोपिएका बिरुवा हुर्काउने, विद्यालय, संघसंस्थालगायतका निकायलाई पुरस्कृत गर्ने योजना रहेको बताउनुभयो ।

कामपाले यो वर्ष हरेक महानगरवासीलाई आफ्नो घर कम्पाउन्ड र सँगै रहेको सार्वजनिक जग्गामा वृक्षारोपण गर्न आ≈वान गरेको छ । कामपाले यो वर्षको विश्व वातावरणको नारा काठमाडौं हरियाली, मेरो जिम्मेवारी, नगरवासीमा खुसीयाली तय गरिसकेको छ ।