पूर्वअधिराजकुमारी प्रेरणाले पत्र बुझ्न मानिनन्

0
Shares

मधुसूदन रायमाझी, काठमाडौं
नेपाल ट्रस्टको कार्यालयको नाममा रहेको घर जग्गा खाली गराउन सरकारले काटेको पत्र बुझ्न पूर्वअधिराजकुमारी प्रेरणालक्ष्मी सिंहले अस्वीकार गर्नुभएको छ।
सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न सरकारले घर जग्गा खाली गराउन पत्राचार गरे पनि सिंहले पत्र बुझ्न अस्वीकार गर्नुभएको हो।

नेपाल ट्रस्टको कार्यालयका कर्मचारी र हुलाक मार्फत पत्र पठाइए पनि उहाँले पत्र बुझ्न अस्वीकार गरेपछि सरकारले घरको गेटमा सूचना टाँसेर उक्त घर जग्गा खाली गराउने प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ।

नेपाल ट्रस्टको कार्यालयले गत वैशाख २३ गते घर जग्गा खाली गरिदिने बारेको व्यहोरासहितको पत्र काटेको थियो। नेपाल ट्रस्टको कार्यालयका कर्मचारीले पूर्वअधिराजकुमारी सिंहलाई पत्र बुझाउन पटक–पटक छाउनीस्थित निवासमा पुगे पनि पत्र बुझ्न अस्वीकार गर्नुभएको थियो।

नेपाल ट्रस्टको कार्यालयका कर्मचारी र हुलाक मार्फत पत्र पठाइए पनि उहाँले पत्र बुझ्न अस्वीकार गरेपछि सरकारले घरको गेटमा सूचना टाँसेर उक्त घर जग्गा खाली गराउने प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ।

कर्मचारीले घरमा नै पुगेर पत्र बुझाउन कोशिस गरे पनि घरको गेटमा रहेको सुरक्षा गार्डले भित्र प्रवेश गर्न नदिएपछि ट्रस्टको कार्यालयले हुलाक मार्फत रजिस्टार गरेर पत्र पठाएको थियो।

ट्रस्टको कार्यालयले इन्क्वाइरी शाखा मार्फत पूर्वअधिराजकुमारी सिंह बस्दै आएको छाउनीस्थित घरको टेलिफोन नम्बर पत्ता लगाउन खोजे पनि उहाँको नाममा टेलिफोन नरहेको जवाफ दिएको थियो।

प्रेरणाको घरको टेलिफोन नम्बर र घर नम्बर पत्ता लाग्न नसकेपछि घरको गेटमा नै ३५ दिने सूचना टास्ने गृहकार्य ट्रस्टको कार्यालयले गरेको छ।


सर्वोच्चको अन्तिम फैसलाबमोजिम टस्टको नाममा रहेको १५ रोपनी घर जग्गा ल्याउने प्रक्रियाअन्र्तगत गत २०७५ वैशाख २३ गते घरजग्गा खालि गर्न ट्रस्टको कार्यालयले पत्रचार गरेको थियो। टस्टले पत्र प्राप्त भएको ३५ दिनभित्र हाल बस्दै आएको घरजग्गा सम्पूर्ण रूपमा खालि गराइदिन पत्राचार गरेको थियो। तर पूर्वअधिराजकुमारी सिंहले पत्र बुझ्नका लागि आलटाल र बहानबाजी गर्दै आएको बताइएको छ।

ट्रस्टको कार्यालयले सिंहलाई घरजग्गा खालि गराइदिन काटिएको पत्रमा भनिएको छ– ‘नेपाल ट्रस्टको स्वामित्वमा रहेको काठमाडौं महानगरपालिका–१३ छाउनी मागस्थित नक्सा नं. ११०३–१२, कित्ता नं. २५ क्षेत्रफल ७ हजार ६ सय ६४ दशमलव ४० वर्गमिटर (१५ रोपनी) को जग्गा हालसम्म तपाईंले उपयोग गर्दै आउनुभएको बुझिएको हुँदा र तपाईंले नेपाल ट्रस्टको कार्यालयलाई विपक्षी बनाई दायर गर्नुभएको उत्प्रेषणको मागदाबीसमेत पुनरावलोकन हुँदा मागदाबी नपुगी ट्रस्टको नाममा कायम भएको सर्वोच्च अदालतको मिति २०७३ माघ २१ गतेको फैसलाअनुसार यो पत्र प्रेषित गरिएको छ।

पत्र प्राप्त भएको मितिले ३५ दिनभित्र घरजग्गा सम्पूर्ण रूपले खालि गरिदिनुहुन निर्देशनुसार जानकारी गराइन्छ। तर ट्रस्टको कार्यालयले काटेको पत्र पूर्वअधिराजकुमारी सिंहले बुझ्न नमानेपछि टस्टको कार्यालयले कानुनी बाटोबाटै आफ्नो नाममा रहेको घरजग्गा खालि गराउने प्रक्रिया अगाडि बढाएको छ। ‘३५ दिनभित्र घरजग्गा खालि गर्न प्रेरणालाई सरकारको पत्र’ शीर्षकमा यसअघि नेपाल समाचारपत्रले समाचार प्रकाशित गरेको थियो।

सिंहले सर्वोच्चमा दायर गरेको पुनरावलोकन मुद्दामा सर्वोच्चले तत्कालीन राजाले आफ्नो हक नै नलाग्ने राष्ट्रिय सम्पत्ति छोरीलाई दाइजो दिएको र ‘विजया घर’ नेपाल ट्रस्टको नाममा राखिनु संवैधानिक फैसला गरेको थियो। फैसला भएको एक वर्ष बितिसक्दासमेत घरजग्गा खालि नभएपछि नेपाल ट्रस्टले सिंहलाई घरजग्गा खालि गर्न पत्राचार गरेको थियो। घरजग्गा खालि गरिदिने सम्बन्धमा नेपाल ट्रस्टले काटेको पत्रको बोधार्थ गृहमन्त्रालय र काठमाडौं महानगरपालिकालाई पनि पठाएको छ।

गृहमन्त्रालयले आवश्यक सहयोग गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई पत्राचार गरेको बोधार्थ ट्रस्टको कार्यालयमा पठाए पनि काठमाडौं महानगरपालिकाले पनि यस बारेमा चासो देखाएको छैन। काठमाडौं महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले ट्रष्टको कार्यालले आवश्यक सहयोग र सम्वन्वय गरिदिन आग्रह गरेको पत्र प्राप्त भएको बताउँदै नगर उपप्रमुखको संयोजकत्वमा रहेको न्यायिक समितिको बैठक बसेर टुंगो लगाउने बताउनुभयो। यस बारेमा महानगरपालिकामा छलफल हुन सकेको छैन।

नेपाल ट्रष्टको कार्यालयका उप–सचिव यदुप्रसाद पन्थलीले पत्र बुझन नमानेको र हुलाकमार्फत् पठाएको पत्र पनि फिर्ता आएकाले अब सिंह बस्दै आएको घरको भित्तामा जनप्रतिनिधिको रोहबरमा सूचना टास्ने प्रक्रियाको विषयमा गृहकार्य भइरहेको बताउनुभयो। उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘पत्र बुझेको ३५ दिनभित्र घर खालि गराउनुपर्छ, अहिलेसम्म पत्र नै बुझ्न मान्नुभएको छैन, अब हामी कानुनी बाटोबाटै घरजग्गा खालि गराउने काम अगाडि बढाउछाँै।

‘सकेसम्म हामी प्रेरणालाई नै भेटेर चिठी बुझाउन चाहन्छौं, यदि हामीले कोशिस गर्दा पनि भेट गर्न मान्नुभएन भने घरको गेटमा घरजग्गा खालि गर्न सूचना टास गर्छौं,’ –उहाँले भन्नुभयो।

ट्रस्टको कार्यालयले सर्वोच्च अदालतको फैसला कार्यान्वयन गरेर छोडने बताएको। टस्टको कार्यालयले सर्वोच्चको फैसला कार्यान्वयन गर्नका लागि पत्र प्रेरणाले पत्र बुझ्न नमानेको अवस्थामा पत्रिकामा ३५ दिने सूचना प्रकाशित गरेर घरजग्गा खालि गराउने प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ।