‘बिमस्टेक’ शिखर सम्मेलन भदौमा

0
Shares

काठमाडौं, (नेस)
बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास ‘बिमस्टेक’ को चौंथो शिखर सम्मेलन आगामी भदौमा काठमाडौंमा हुने भएको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सो सम्मेलन भदौ १४ र १५ गते वा २१ र २२ गते गर्नका लागि सदस्य राष्ट्रसँग प्रस्ताव गर्ने निर्णय गरेको हो।

शिखर सम्मेलनको आवश्यक तयारीका लागि विभिन्न उपसमितिहरू गठन गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सञ्चारकर्मीलाई जानकारी दिनुभयो। सरकारले जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, सीमा प्रशासन कार्यालय, अध्यागमन कार्यालय तथा कारागार कार्यालयहरूको संगठन संरचना तथा दरबन्दी पनि स्वीकृत गरेको छ।

प्रशासनको कामलाई सहज ढंगले सम्पन्न गर्न प्रशासन, अध्यागमन र कारागार कार्यालयमा संगठन संरचना र दरबन्दी मिलानसम्बन्धी प्रस्ताव स्वीकृत गरिएको प्रवक्ता बाँस्कोटाले बताउनुभयो।

उक्त बैठकले काठमाडौं–तराई प्रदेश मार्ग सडक आयोजना सञ्चालन कार्यविधि, २०७५, प्रशासकीय अदालतको सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेक संसदमा पेश गर्ने प्रस्ताव र कृषि जैविक विविधता संरक्षण तथा सदुपयोगसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने तथा दोस्रो चरणको भर्ना अभियान सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता बाँँस्कोटाले जानकारी दिनुभयो।