वीरमा छानविन शुरू

0
Shares

भगवती तिमल्सिना, काठमाडौं
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालमा विगत ३ वर्षदेखि व्यापक अनियमितता भएको विषयमा सरकारको उच्च निकायसम्म उजुरी तथा प्रतिवेदन पेस गरेपछि राष्ट्रिय सतर्कता केन्द्रले आइतबारबाट छानविन शुरू गरेको छ।
राष्ट्रिय सतर्कता केन्द्रले अनुसन्धान समिति बनाई उपसचिव यमप्रसाद भुसालको संयोजकत्वमा ३ सदस्यीय छानविन समिति गठन गरिएको वीर अस्पतालको उच्च स्रोतले जनाएको छ। उक्त अनियमितताको विषयमा विगतको सरकार प्रमुख प्रधानमन्त्री, अर्थमन्त्री, राष्ट्रिय सतर्कता केन्द्र, महालेखा, सार्वजनिक खरिद अनुगमन कार्यालयका साथ विभिन्न चरणमा गरेको अनुसन्धान प्रतिवेदनले वीर अस्पतालमा व्यापक अनियमितता भएको भन्दै छानविनका लागि स्वास्थ्य मन्त्रालयमा प्रतिवेदन पेस भएको थियो।

छानविनको मुख्य बुँदामा न्याम्सको सेवा आयोगले लिएको परीक्षामा उच्चपदस्त व्यक्तिहरूले आफू निकटका परीक्षार्थीलाई उत्तरपुस्तिका नै उपलब्ध गराएर जागिर खुवाएको उल्लेख छ। यस्तै अन्य आर्थिक वर्षमा न्याम्स वीर अस्पतालले १५ देखि २० करोड वार्षिक बजेट पाउनेमा गत आर्थिक वर्षमा स्वास्थ्यमन्त्री गगन थापाले अस्पताल सुधारका लागि साढे २ अर्ब निकासा गर्नुभएको थियो। सो रकम उपकरण खरिदमा खर्च भएको थियो। सोही उपकरण खरिदमा व्यापक अनियमितता भएको भन्दै सार्वजनिक खरिद अनुगमन पुनरावलोकन समितिले एउटै सिटी स्क्यान मेसिनमा १० करोडसम्म अनियमितता गरेको आशंका गरेको थियो।

सोही विषयमा वीर अस्पतालको खरिद इकाइका कर्मचारीलाई कारबाही गर्न स्वास्थ्य मन्त्रालयमा प्रतिवेदन अनुगमन कार्यालयले ०७४ साल साउन ३२ गते निर्देशन दिएको भए पनि हालसम्म कार्यान्वयन भएको छैन।

यस्तै सर्वोच्च अदालतले ०७२ माघ ५ गते ट्रमा सेन्टर सम्बन्धमा दिएको निर्देशन हालसम्म पालना भएको छैन। सर्वोच्चले ट्रमा सेन्टर छुट्टै नभएकाले अर्काे निर्देशक आवश्यक नभएको भन्दै वीरलाई नै सञ्चालन गर्न निर्देशन दिएको थियोे। यस्तै ०७४ माघ १४ गते न्याम्सलाई स्वायत्त किसिमले सञ्चालन गर्न दिएको निर्देशन पनि हालसम्म कार्यान्वयन भएको छैन। स्पेसल एक्सरे १ वर्ष र एमआरआई मेसिन लामो समयदेखि सञ्चालनमा नभएको र वीर अस्पताल खरिद इकाइका कर्मचारीले व्यापारीसँग मोलमोलाई गर्दै फाइल नै अड्काएको अस्पताल स्रोतले जनाएको छ।

वीर अस्पतालको खरिद इकाइबाट हुनुपर्ने महŒवपूर्ण कामहरू खरिद इकाइका कर्मचारीहरूको मिलेमतोमा आफ्नै परिवारको नाममा कम्पनी दर्ता गरी सामान आपूर्ति गर्ने कार्यमा लामो समयदेखि लाग्दै आएको पनि स्रोतले जनाएको छ। यस विषयलाई मध्यनजर गर्दै सतर्कता केन्द्रले छानविन शुरु गरेको हो। लामो समयदेखि वीर अस्पतालको अनियमितता गर्दै आएको समूह छानविनको घेरामा परेको सतर्कता केन्द्रले जनाएको छ। न्याम्स वीर अस्पतालमा घोटाला गरेको आरोपसँगै सर्वोच्च अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेको छ।