३३ किलो सुन तस्करी प्रकरण, म सुन कारोबारमा संलग्न छैन : घले

0
Shares

सरोज यादव, विराटनगर
३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या काण्डमा संलग्न गिरोहका मुख्य सदस्य मानिएका छिरिङ वाड्डेल घलेले आफू सुनको कारोबारमा संलग्न नरहेको र गोरेले आफू अनि आफ्ना मान्छे जोगाउन आफ्नो नाम पोलेको बयान दिएका छन्।

आइतबार जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका घलेले आफू सुनको कारोबार गर्ने व्यक्ति नै नभएको जिकीर गरेका छन्। अधिवक्ता सरोज अधिकारी मार्फत निवेदन दिएर विराटनगरस्थित जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका घलेको बयान लिने काम सकिएको छ। जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा उनको बयान लिइएको थियो।

बयानपछि भएको थुनछेक बहसपछि घलेलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश भएको मोरङ जिल्ला अदालतका निमित्त स्रेस्तेदार केदारप्रसाद गौतमले जानकारी दिनुभयो।

भुजुङ गुरुङ नाताले भिनाजु पर्ने भए पनि सुन तस्करीमा आफ्नो संलग्नता नभएको उनले बताएका छन्। मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’सँग भने चिनजान नै नभएको दाबी गरेका छन्।

जबकि गोरेले सुन तस्करीको नेपालमा सेटिङ मिलाउने मुख्य व्यक्ति छिरिङ भएको र उनीको मातहतमा बसेर आफूले भरियाको नेतृत्व गरेको बयान दिएका छन्।

साढे ३३ किलो सुन हराएपछि भने गोरे र उनका केटाहरूलाई दुई पटक बोलाएर सोधपुछ गरेको स्वीकार गरेका छन्। तिलगंगा नजिकै एक होटलमा भएको सोधपुछका क्रममा गोरेकै दबाबमा आफूले भुजुङलाई फोन गरेको उनको बयानमा उल्लेख गरिएको छ।

भुजुङसँग हाइड्रोको शेयरमा भने आफूले कारोबार गरेको छिरिङको बयानमा उल्लेख छ। यसअघि उनकै नेतृत्वमा सुन लुटिएको आशंका गरिएकोमा उनले सुन तस्करीमा नै आफू नरहेको बयान दिएर यो विषयलाई थप गुमराहमा पार्ने कोशिस गरेका छन्।

यसअघि पक्राउ परेका गोरे अनि मृतक सनम शाक्यकी प्रेमिका निशा सेन ठकुरीलगायत अन्यले उनी सुन कारोबारमा संलग्न रहेको र सुन लुटपाटमा समेत भूमिका खेलेको बयान दिएका थिए।

उनले अदालतमा दिएको बयानमा डा. डेबिट भन्ने आफू नभएको जिकीरसमेत गरेका छन्। सुन तस्करीका मुख्य नाइके भनिएकाले नै बयानमा एक–अर्कालाई आरोप लगाएका छन्।

उनीहरूले छानविनलाई प्रभावित बनाउने उद्देश्यले त्यसो गरेको हुन सक्ने छानविनमा संलग्न सरकारी अधिकारीले आशंका गरेका छन्। लामो समय फरार रहेका उनले कसैलाई सुइँको समेत नदिई अदालत पुगेर आत्मसमर्पण गरेका थिए।
यसअघि गोरे र एसएसपी श्याम खत्रीले पनि योजनामै आत्मसमर्पण गरेका थिए।

सुन तस्करीको विषयमा छानविन गरिरहेको ईश्वरराज पौडेल नेतृत्वको छानविन समितिले मुख्य ठानेका व्यक्ति पालैपालो अदालत गएर आत्मसमर्पण गर्न थालेपछि छानविन समितिलाई तस्करीको जालो खोतल्न समस्या हुने भएको छ।