धरहरा परिसरका संरचना भत्काइयो


ईश्वरराज ढकाल, काठमाडौं

काठमाडौं महानगरपालिकाले नेपाल प्रहरीको सहयोगमा धरहरा क्षेत्रका व्यापारिक संरचना भत्काएको छ। कामपाले यही जेठ ११ गते शुक्रबार २४ घण्टे सूचना जारी गरेलगत्तै शनिबार सो संरचना भत्काएको हो।

यही शुक्रबार बसेको नगर कार्यपालिकाको निर्णयबमोजिम धरहरा परिसरमा रहेका रेस्टुरेन्टसहित २० वटा पसल र केही टहराजस्ता भौतिक संरचना भत्काइएको हो।
कामपा निजी साझेदारी (पीपीपीयू) एकाइले पत्र काटेको २४ घण्टापछि उक्त संरचना भत्काउन शुरू गरिएको थियो।

कामपाका उपमेयर हरिप्रभा खड्गीले लामो समयको प्रयासपछि आफूहरूलाई सफलता मिलेको बताउँदै अब तोकिएकै समयमा धरहरा बन्ने दाबी गर्नुभयो। टहरा र पसल भत्काउँदा उपमेयर आफै उपस्थित हुनुभएको थियो। कामपा प्रहरी प्रमुख विष्णुराज जोशीले सबै टहरा र पसल हटाइसक्ने जानकारी दिनुभयो।

प्रहरी टोलीले आफ्ना सामग्री उठाउन भनेपछि रेस्टुरेन्ट तथा पसलका सञ्चालकले ठाउँ खाली गर्न समय कम भएको गुनासो गरेका थिए।

कामपाको २ वटा स्काभेटरले टहरा भत्काएको थियो। करिब २ साता अघि राष्ट्रिय पुननिर्माण प्राधिकरणमा बसेको बैठकले १५ दिनभित्र धरहरा परिसरको संरचना भत्काउन कामपालाई अनुरोध गरेको थियो। सोहीअनुसार कामपाले टहरा भत्काएको हो।

काठमाडौं महानगरपालिकाले साइड वाकर्स कम्पनीलाई २०६१ साल वैशाख ३१ गते २० वर्षे सम्झौता गरी धरहरा र त्यस क्षेत्रको सम्पूर्ण भाग भाडामा दिएको थियो। सो सम्झौता २०८१ सालमा सकिनेछ। भूकम्पले धरहरा ध्वस्त भएलगत्तै कामपाले सम्झौता भंग भएको जनाएको थियो। २०७२ साल वैशाख १२ गतेको शक्तिशाली भूकम्पले ढलेको धरहरा र त्यसले चर्चेको क्षेत्रमा साइड वाकर्सले रेस्टुरेन्ट, रेडिमेड पसललगायत व्यवसाय भाडामा दिएर सञ्चालन गर्दै आएको थियो।

प्राधिकरणले धरहरा पुनर्निर्माण गर्न वैशाख ३० गते टेन्डर आ≈वान गरेको छ। प्राधिकरणले मुलुक र मुलुकबाहिरका ठेकेदारले समेत प्रतिस्पर्धा गर्न सक्ने गरी टेन्डर आ≈वान गरेको थियो। प्राधिकरणले २१ दिनको म्याद उल्लेख गर्दै टेन्डर आह्वान गरेको थियो। असारभित्रै धरहरा पुनर्निर्माण गर्न टेन्डर आह्वान गरेर प्रक्रिया शुरू गरेपछि कामपाले कार्य अघि बढाएको हो। करिब ४ अर्ब रुपियाँ लागतमा हुलाक र टक्सार विभागलाई समेत समेट्ने गरी धरहरा पुनर्निर्माण हुँदै छ। पुनर्निर्मित धरहराको उचाइ २ सय ४५ फिट हुनेछ भने भित्र २ सय १३ र बाहिर २५ वटा सिँढी रहनेछन्। यसमा अपांग र वृद्धवृद्धाका लागि डबल लिफ्ट राखिनेछ।