३२ जनाको नाममा म्याद जारी गर्ने तयारी


काठमाडौं, (नेस)
साढे ३३ किलो सुन तस्करी र उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा फरारको नाममा उपस्थितिका लागि म्याद जारी गर्न लागिएको छ। फरार रहेका ३२ जनाको नाममा ७० दिनको म्याद जारी गर्ने तयारी गरिएको जिल्ला अदालत मोरङका निमित्त स्रेस्तेदार केदारप्रसाद गौतमले बताउनुभयो।

घटनामा प्रतिवादी बनाइएका ६३ मध्ये ३२ जना अझै फरार रहेका छन्। ३१ जना पक्राउ परेका छन्। पक्राउमध्ये २८ जना पुर्पक्षका लागि अहिले झुम्का कारागारमा छन्। मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेतीसँग न्यायाधीश शर्माकै रोहबरमा बयान लिने काम भइरहेको छ। त्यही आदेशलाई आधार बनाएर अदालतले फरार रहेका बहालवाला नेपाल प्रहरीका एसएसपी श्यामबहादुर खत्रीसहित ३२ जनाकै हकमा म्याद जारी गर्ने तयारी गरेको हो।

म्याद जारी गर्ने तयारी गरिएका प्रतिवादी बहालवाला एसएसपी ५४ वर्षीय श्यामबहादुर खत्री, गोरेकी पत्नी काठमाडौं महानगरपालिका ७ गौरीघाट बस्ने निरु भनिने नर्वदा खरेल उप्रेती, गोरेकी ‘गर्लफ्रेन्ड’ काठमाडौं बस्ने आरबी भनिने रक्षा भण्डारी, काठमाडौंका रमेश उप्रेती, काठमाडौं नागार्जुन बस्ने डा. डेविट भनिने छिरिङ् वाङ्गेल घले, बाजेको सेकुवाका प्रोप्राइटर चेतन भनिने चेतनाथ भण्डारी, न्यूरोडका सुन व्यापारी प्रमोदकुमार श्रेष्ठ रहेका छन्।

यस्तै न्यूरोडको सुन पसले गीता श्रेष्ठ काठमाडौंका मणिराज चौलागार्इं धरानका कृष्ण बस्नेत धरानका एम के मामा भनिने मोहनकुमार अग्रवाल धरानका सुनिलकुमार अग्रवाल इटहरीका बेनु श्रेष्ठ काठमाडांैका सुन पसले सुनिल श्रेष्ठ, उर्लाबारीका भविन राई भनिने भविन तामाङ मोरङको सुनवर्षी नगरपालिका ६ का अर्जुनप्रसाद खरेल मोरङको कानेपोखरी गाउँपालिका ४ का माधव आचार्य मोरङको सुन्दरहरैंचा २ का ओमप्रकाश नेवार झापा गौरादहका भोजे मामा भनिने भोजराज भण्डारी झापा मेचीनगरका रुस्तम मियाँ भनिने मोहमद उस्तम मियाँ काठमाडौं चन्द्रागिरी बस्ने कृष्णगोपाल अग्रवाल सोलुखुम्बु दूधकुण्डका टुकबहादुर मगर सिरहाको धनगढीमाईका रोहित आचार्य काभ्रे बेथानचोक गाउँपालिकाका हरिशरण खड्का छन्।

साथै बाग्लुङको काठेखोला गाउँपालिकाका कमल कार्की सिन्धुपालचोक त्रिपुरासुन्दरी गाउँपालिका जलजलेका शिवकुमार गुभाजु सिन्धुपालचोक बलेफी गाउँपालिकाका संजय अधिकारी पर्वतको पैयूँ गाउँपालिकाका रोशन भनिने गुप्तलाल भुषाल काभ्रेपलान्चोक बेथान चोकका रामहरि कार्की कास्कीको लेखनाथ महानगरपालिका प्रयाश पराजुली, समिर अधिकारी मकवानपुरका सुरेन्द्र गौतम नाममा म्याद जारी गर्ने तयारी भइरहेको बुझिएको छ।