सिंहदरबारभित्रै ट्राफिक जाम !


तस्वीर: अनिल आङदेम्बे/काठमाडौं

टीका बन्धन, काठमाडौं
मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारसमेत ट्राफिक समस्यासँग जेलिन थालेपछि सवारी व्यवस्थापनका लागि ट्राफिक प्रहरी खटिन थालेका छन्।

ट्राफिक प्रहरी अन्यत्रका खुला सडकमाझैं सिट्ठी फुक्दै गरेका भेटिन्छन्। सवारी चाप हुने मन्त्रालय र आसपासका अन्य निकायको सवारी व्यवस्थापनका नियमित रूपमा ट्राफिक खट्न थालेका हुन्। एक अर्को मन्त्रालय जोड्ने सडक, सडकका फुटपाथमा जथाभावी सवारी पार्किङ नगर्न र पार्किङका लागि तोकिएकै क्षेत्रमा मात्रै सवारी रोक्न निर्देशन गरिरहेका भेटिन्छन्।

ट्राफिक प्रहरी महाशाखाले प्रत्येक दिन बिहान ८ देखि ११ र ११ देखि अपराहरन ४ बजेसम्ममा दुई चरणमा २÷३ जना ट्राफिक आलोपालो खटाउन थालेको हो। ट्राफिक प्रहरी संघीय मामिला तथा सामान्य प्रशासन, वन तथा वातावरण र कानुन, भौतिक योजना, खानेपानी, कृषि भूमि व्यवस्था र सहकारी मन्त्रालय आसपासमा भेटिन्छन्।

त्यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसहित संघीय संसद् सचिवालय आसपासमा पनि सवारी व्यवस्थापन गरिरहेका देखिन्छन्। सिंहदरबार परिसरभित्रैको महानगरीय प्रहरी गणले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पटक–पटक सवारी व्यवस्थापनबारे ध्यानाकर्षण गराएपछि महाशाखाले विगत ३ सातायता ट्राफिक जवान खटाउन थालेको हो।

‘प्रहरी आफैले सवारी व्यवस्थापन गर्न व्यावहारिक नहुने भएपछि ट्राफिकको सहयोग लिइएको हो।’ –गण प्रमुख एवं प्रहरी नायब उपरीक्षक अजय केसीले नेपाल समाचारपत्रसँग भन्नुभयो। उहाँका अनुसार एक साताभित्रमा नियमित रूपमा ट्राफिकको सानो टोली सिंहदरबारकै लागि खटिँदै छ।
यससँगै सवारी निषेधित र पार्किङ क्षेत्र तोक्दै यसबारे जानकारी दिने होर्डिङ बोर्ड र प्लेक्सको समेत व्यवस्था गर्ने तयारी गरिएको केसीले बताउनुभयो। बिहीबार वन तथा वातावरण मन्त्रालयअघि भेटिनुभएका ट्राफिक जवानद्वय विक्रम अधिकारी र करुणाकर भट्टका अनुभवमा सिंहदरबार भित्रिने सवारी चालक अन्यत्रका भन्दा अटेरी स्वभावका छन्।

‘ड्राइभरले जानी–जानी फुटपाथ र मूल सडकमा सवारी रोक्छन्, पार्किङमा लानुस् न भन्दा टेर्दै टेर्दैनन्, निकै अटेर गर्छन्।’ –अधिकारीले भन्नुभयो। धेरै उच्च पदस्थ अधिकारीहरू आफैले सवारी साधन चलाउने भएकाले ट्राफिक नियम सुझाउन र निर्देशन दिन अप्ठ्यारो हुने गरेको उहाँहरूले बताउनुभयो।

खुला सडकमा सवारी नियम उल्लंघन गर्नेहरूलाई ट्राफिकले तत्कालै जरिवाना र कारबाही गर्ने भए पनि सिंहदरबारभित्र त्यस्तो कारबाही गरेको भने देखिँदैन। तोकिएको क्षेत्राधिकारअनुसार कारबाही प्रक्रिया छिट्टै शुरू हुने महानगरीय ट्राफिक प्रहरी प्रवक्ता नवीन राईले बताउनुभयो।

यसअघि तत्कालिन ट्राफिक प्रहरी प्रमुख एवं वर्तमान प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको पहलमा गत वर्षको पुस ३१ गते सिंहदरबारमा ट्राफिक खटाउने निर्णय भएको थियो। तर नियमित रूपमा ट्राफिक खटिएका थिएनन्।

अब भने नियमित रूपमा ट्राफिक खटाउन महानगरीय प्रहरी गण सिंहदरबारले ट्राफिक महाशाखालाई आवास र खाना उपलब्ध गराउने सुनिश्चित गरेको गण प्रमुख केसीले बताउनुभयो।