सार्क क्षयरोग केन्द्र बन्यो डाक्टरको मागी खाने भाँडो


नेपाल समाचारपत्र
काठमाडौं
नेपालमा क्षयरोगीको संख्या कति होला, कति उपचारको पँहुचमा छन् र कति पँहुचबाहिर छन् भन्ने बारेमा यथार्थ तथ्यांक अहिलेसम्म प्राप्त हुन सकेको छैन। नेपालको तथ्यांकलाई औंल्याउनुपर्दा विश्व स्वास्थ्य संगठनका अनुसार अनुमानित भन्न सबै निकाय बाध्य छन्। यस विषयमा क्षयरोग केन्द्रका निर्देशकहरूले अनुसन्धान गरी सत्यतथ्य विवरण सार्वजनिक गर्नुको सट्टा चोरबाटोबाट कसरी कमाउने र कागज बनाएर खाने भन्ने मानसिकतामा नै केन्द्रित भएको पाइन्छ।

यतिबेला सार्क क्षयरोग तथा एचआईभी एड्स केन्द्र थिमीका निर्देशक डा. आरपी विच्छाले यही शैलीमा सरकारसँग बजेट माग गर्नुभएको छ। नेपालमा भूकम्प गएको पनि ३ वर्ष बितिसक्यो डा. विच्छा भने भूकम्पको नाममा पटकपटक सरकारसँग कुनै क्षति नै नभएको सार्क भवनको क्षतिको नक्कली विवरण बनाएर बजेट सिलिङ पेस गर्न व्यस्त हुनुहुन्छ। उहाँ यतिबेला स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरूको ग्रीन सिंग्नलका आधारमा भवन मर्मतका लागि भन्दै पौने ४ करोड रुपियाँ सरकारसँग मागपत्र पेस गरेर कुम्ल्याउने धुनमा हुनुहुन्छ।

डा. विच्छाले २०७२ को भूकम्पले क्षति पुगेको भनेको भवन सन् २०११ मा शहरी विकास तथा भवन निर्माण विभागले निमार्ण कार्य सम्पन्न गरी केन्द्रलाई हस्तान्तरण गरेको थियो। ७ वर्षअघि बनेको पक्की नयाँ भवनमा ‘भूकम्पले कुनै पनि क्षति नभएको र बस्न योग्य’ भनेर भवनमा अनुगमनमा गएका इन्जिनियरको हस्ताक्षरसहित ‘हरियो स्टिकर’ टाँसेको छ।

सरकार परिवर्तन र स्वास्थ्यका बारेमा पूर्ण जानकारी स्वास्थ्य मन्त्री र सरकार प्रमुखमा पुग्नै नदिने खेलमा लागेका उच्च तहका कर्मचारीसँगको मिलेमतोमा डा. विच्छाले भवन क्षति भएको नक्कली प्रतिवेदन बनाएर बजेट मागका लागि पेस गरेको स्रोतको दाबी छ।
सात वर्षअघि नेपाल सरकारले झन्डै ७ करोडको लागतमा एकतला अन्डरग्राउन्ड भएको पाँच तल्ले नयाँभवन राष्ट्रिय क्षयरोग केन्द्र थिमी परिसरमा निर्माण गरिदिएको हो। क्षति नै नभएको उक्त भवनको मर्मत सम्भारका नाममा निर्देशक विच्छाले सरकारसँग ३ करोड ७१ लाख ३४ हजार ३ सय ८३ रुपियाँ ९७ पैसा माग गरेको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ।

उक्त बजेट दोस्रो चरणअन्तर्गत भवनमा लिफ्ट, विद्युतीय उपकरण, जेनेरेटर, वातानुकूलित मेशिन, पानी फिल्टर जडान, बैठक हल मर्मत एवम् पार्किङक्षेत्र सुधारका लागि भन्दै सो रकमको प्रस्ताव गरिएको खुल्न आएको छ। यसका साथै निर्देशक विच्छाले प्रयोगशालाका लागि फर्निचर, कम्प्युटर र अन्य सामग्री खरीदका लागि भन्दै थप ३० लाखसमेत माग गर्न प्रपोजल तयार भइसकेको बुझिएको छ।

सार्क केन्द्रमा २ वटा जापानी ल्यान्डक्रुजर र एउटा स्कर्पियो गाडीको सदुपयोग नभएको निर्देशक विच्छाको निजी काममा बढी प्रयोग भएको केन्द्रका कर्मचारीको गुनासो आइरहेको अवस्थामा विच्छाले पुनः थप नयाँ गाडीको समेत सरकारसँग माग गर्नुभएकोप्रति कर्मचारीहरूले असन्तुष्टि व्यक्त गरेका छन्। विगतमा बाल स्वास्थ्य महाशाखाको निर्देशक हुँदा डा. विच्छाले यसरी नै अनियमितता गरेको भन्ने गुनासोपछि छानविन गरी तत्कालीन स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले डा. विच्छालाई मन्त्रालयमा हाजिर गराई छानविन अघि बढाएका थिए। सरकार परिवर्तनपछि पुनः विच्छालाई फुक्का गरी क्षयरोग केन्द्रको निर्देशकजस्तो महŒवपूर्ण पद उपहार दिएकाले डा. विच्छामा गलत कागजपत्र बनाएर सरकारलाई झुक्याउने मनोबल बढेको स्वास्थ्य मन्त्रालय स्रोतको दाबी छ।

सार्क क्षयरोग केन्द्रको वार्षिक बजेट जति ठूलो अंकमा आए पनि कर्मचारीको तलब, क्षयरोग तथा एचआईभी सम्बन्धी विभिन्न तालिम, अनुसन्धान, गोष्ठी तथा सेमिनारका नाममा खर्च गर्ने र विच्छा परिवारका साथै कागजपत्र मिलान गर्न सहयोग गर्ने केही कर्मचारी विदेश भ्रमण गर्नेबाहेकका उपलब्धिमूलक काममा खर्च नै नहुनेसमेत केन्द्रका कर्मचारीहरूको आरोप रहेको छ।