क्युबामा भयानक विमान दुर्घटना, एक सयभन्दा बढीको मृत्यु


हवाना, (एजेन्सी)
ल्याटिन अमेरिकी राष्ट्र क्युबामा स्थानीय समयअनुसार शुक्रबार अपरा≈न १२ बजेर ८ मिनेट जाँदा एक यात्रुवाहक बोइङ ७३७–२०० विमान विमान दुर्घटनाग्रस्त भएको स्थानीय सञ्चार माध्यमले जनाएको छ। सो दुर्घटनामा १ सय जनाभन्दा बढीको ज्यान गएको छ।

क्युबाको राजधानी हवानामा रहेको जोस मार्टी अन्तर्राष्ट्रिय विमानस्थलको नजिकै सो विमान दुर्घटनाग्रस्त भएको हो। यसमा दुर्घटनामा १ सय ७ जना यात्रुको मृत्यु भएको तथा तीनजना बाँच्न सफल भएको क्युबाली कम्युनिस्ट पार्टीको मुखपत्र गान्नाले जनाएको छ। तर बाँच्न सफल सबैको स्वास्थ्यस्थिति निकै चिन्ताजनक रहेको बताइएको छ।

मृत्यु हुनेहरूमा अधिकांश क्युबाली र केही मेक्सिकन पनि रहेका बताइएको छ। उक्त जहाजमा रहेका चालक दलका सम्पूर्ण सदस्यहरूको पनि ज्यान गएको बताइए पनि जीवित तीन जना चालक दलका सदस्य वा यात्रु हुन् भन्ने अझै यकिन हुन सकेको छैन।

सो विमान धावनमार्गबाट उडेको एकैछिनपछि नै खसेको थियो। उडेलगत्तै जहाजको इन्जिनमा समस्या देखिएपछि त्यो विमान बाँझो जमिनमा खसेको थियो।
जहाज जमिनमा धस्सिएपछि धुँवाको ठूलो मुस्लो देखिएको र त्यसलगत्तै उद्धारको कार्य परिचालन भएको थियो। तर विमानमा समस्या रहेकोबारे कुनै पनि पूर्वसूचना प्राप्त नभएको उड्डयन अधिकारीहरूले जनाएका छन्।

तत्कालै स्थानीय बासिन्दा र आपत्कालीन उद्धारकर्मीहरू उद्धार कार्यमा खटिएका थिए। परिचालित सबै जनाले उद्धारको काम थालेको भए पनि जहाजमा आगो लागेकाले समयमै विमानबाट यात्रुहरूलाई बाहिर निकाल्न नसकिएको अधिकारीहरूले बताएका छन्।
क्युबाका उड्डयन अधिकारीहरूले विमानमा कुल १ सय ४ जना यात्रु र ६ जना चालक दलका सदस्य गरी कुल १ सय १० जना सवार रहेको पुष्टि गरेका छन्। साथै त्यस विमानमा चालक दलका छ जना सदस्य मेक्सिकन रहेको पनि बताइएको छ।

उक्त जहाज मेक्सिकोको एक विमान कम्पनीसँग भाडामा लिएर क्युबाले सञ्चालन गर्दै आएको बताइएको छ। क्युबाको सरकारी एयरलान्सको यो विमान हवानाबाट क्युबाको पूर्वी भूभागमा पर्ने होल्गिन शहरतर्फ जान उडेको थियो। क्युबाका उड्डयनमन्त्री र राष्ट्रपतिले दुर्घटनास्थलकोे भ्रमण गरिसकेका छन्। राष्ट्रपति मिगेल डिआस कनेलले आफूलगायत सरकार तथा आफ्नो पार्टीका तर्फबाट मृतकहरूप्रति समवेदना प्रकट गर्दै तिनीहरूका आफन्तजनमा सहानुभूति व्यक्त गरेका छन्। साथै राष्ट्रपतिले आपत्कालीन उद्धारमा खटिएका सबै कर्मचारी र सुरक्षाकर्मीलाई चुस्तताका साथ काम गर्न आ≈वान गरेका छन्।


असीको दशकयता क्युबामा भएको यो पहिलो सबैभन्दा ठूलो र भयावह दुर्घटना हो। यसलाई देशको उड्डयन इतिहासकै सबैभन्दा खराब हवाई दुर्घटनाको संज्ञा दिइएको छ। यस दुर्घटनाका कारण यसमा मारिएका क्युबाली परिवारका सदस्य मात्र नभएर सिंगो देश नै शोकमा डुबेका समाचारहरू आइरहेका छन्।

उडेलगत्तै कसरी विमान खस्यो भन्ने बारेमा घटनास्थलबाटै प्रारम्भिक अनुसन्धान थालिएको सरकारी अधिकारीहरूले बताएका छन्। निकै लामो समयदेखि सेवा दिइरहेको यस विमानमा के कति कारणले अचानक प्राविधिक त्रुटि देखियो भन्नेबारे अनुसन्धान थालिएको हो। दुर्घटनामा परेको झन्डै ४० वर्ष पुरानो सो विमान पूर्णरूपमा ध्वस्त भएको छ।