विद्यालयमा गोली चल्दा १० जनाको मृत्यु, अमेरिकी झण्डा आधा झुकाइयो


ह्युस्टन, (एजेन्सी)
अमेरिकाको टेक्सास राज्यको ह्युस्टनस्थित एउटा विद्यालयमा एकजना बन्दुकधारी विद्यार्थीले जथाभावी गोली प्रहार गर्दा १० जनाको मृत्यु हुनुका साथै अन्य १० जना घाइते भएका छन्। प्रहरीका अनुसार मृत्यु हुनेमा ९ जना विद्यार्थी र एक जना शिक्षक रहेका छन्।
यस घटनामा घाइते भएका स्कुलका प्रहरी अधिकारी जोन वार्नेसको अवस्था गम्भीर रहेको छ। स्थानीय समयअनुसार शुक्रबार बिहान ८ बजे सान्टा फि हाइ स्कुलमा कला विषयको कक्षा सञ्चालन भइरहेका बेला सोही विद्यालयका विद्यार्थी १७ वर्षीय दिमित्रिओस प्यागोर्टिटसले अन्धाधुन्ध गोली प्रहार गरेका थिए। उनलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। उनी सो हमलापछि आत्महत्या गर्ने मनस्थितिमा रहेका थिए। उनले आफ्नो पिताको नाममा दर्ता भएको सटगन र रिवल्भरबाट गोली प्रहार गरेको खुलेको छ।

टेक्सासका गभर्नर ग्रेग एब्बोटले ह्युस्टनदेखि करिब ६५ किमि दक्षिणमा रहेको सो विद्यालय परिसरमा विभिन्न किसिमका विस्फोट पदार्थ पनि फेला परेको जानकारी दिएका छन्। एब्बोटका अनुसार ‘सीओटु डिभाइस’ र ‘मोलोटोभ ककटेल’जस्ता विस्फोटक पदार्थ भेटिएका छन्। आक्रमणकारीको डायरी र कम्प्युटर तथा मोबाइल फोनबाट प्रहरीले प्राप्त गरेको सूचनाअनुसार उनको आक्रमणपछि आत्महत्या गर्ने योजना रहेको थियो।

एकजना विद्यार्थीले पहिलो गोली चल्नासाथ एक शिक्षकले भावी घटनाको अन्दाज गर्दै विद्यालय खाली गराउने उद्देश्यले तत्काल फायर अलार्म थिचेको स्थानीय टेलिभिजन नेटवर्क केएचओयू–११ लाई जानकारी दिएका छन्। अर्का विद्यार्थी डाकोटा स्राडरले अलार्म बज्नासाथ सम्पूर्ण विद्यार्थी अत्तालिँदै बाहिर भाग्न थालेको सीबीएस न्युजलाई बताएका छन्। उक्र आक्रमणको समय विद्यालयमा १ हजार ४ सय जना विद्यार्थी रहेको प्रहरीले जनाएको छ।


राष्ट्रपति भवन ह्वाइट हाउसमा कारगार व्यवस्था सुधारसम्बन्धी एक कार्यक्रममा बोल्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन्– ‘यो आक्रमण अत्यन्तै भयावह छ। मेरो सरकार विद्यार्थीहरूको रक्षा, विद्यालयहरूको सुरक्षा तथा आफै र अन्यलाई खतरामा रहेका व्यक्तिहरूका हातबाट हतियार छिन्न जस्तोसुकै कदम चाल्न पनि प्रतिबद्ध रहेको छ।’

उनले यस घटनाप्रति शोक व्यक्त गर्ने क्रममा राष्ट्रपति भवनलगायत सम्पूर्ण सरकारी र सैनिक कार्यालयहरूमा राष्ट्रिय झण्डा आधा झुकाउन पनि आदेश दिएका छन्।