भारतीय पूर्वकूटनीतिज्ञ दोषी ठहर


नयाँदिल्ली, (एजेन्सी)
दिल्लीको एक अदालतले पूर्वकूटनीतिज्ञ माधुरी गुप्तालाई पाकिस्तानको गुप्तचर निकाय आईएसआईसँग संवेदनशील सूचना बाँड्ने र राष्ट्रिय हितविरुद्ध सम्झौता गरेको भन्ने अभियोगमा दोषी ठहराएको छ।

उनी पाकिस्तानको राजधानी इस्लामावादस्थित भारतीय उच्चायोगमा कार्यरत रहेकी थिइन्। न्यायाधीश सिद्धार्थ शर्माले पूर्वकूटनीतिज्ञलाई सरकारी गोपनीयतासम्बन्धी कानुनका विभिन्न धाराअन्तर्गत दोषी ठहराएका हुन्।

माधुरीलाई दिल्ली प्रहरीको विशेष विभागलेले २२ अप्रिल २०१० मा पाकिस्तानी अधिकारीसँग संवेदनशील सूचना प्रवाह गरेको तथा दुई अधिकारी मुबशर रजा राणा र जमशेदसँग सम्पर्कमा रहेको आरोपमा गिरफ्तार गरेको थियो।

भारतीय उच्चायोगको प्रेस तथा सूचना विभागमा द्वितीय सचिव पदमा कार्यरत माधुरी गुप्तालाई सरकारी गोपनीयता अधिनियमको धारा तीन र पाँच ‘क’ अनुसार दोषी ठहराइएको हो। यस अपराधका लागि अधिकतम ३ वर्ष लामो कारावास वा जरिवाना वा दुवै हुन सक्छ। यसैक्रममा उनलाई ३ वर्ष लामो कारावास सजाय तोकिएको छ।