विराटनगरबाटै अब लाइसेन्सको नविकरण


सरोज यादव, विराटनगर

यातायात व्यवस्था सेवा कार्यालय विराटनगर खार्जीबाट चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) नविकरण कार्यको शुभारम्भ भएको छ। सो कार्यालयबाट सेवाग्राहीलाई नविकरण शुल्क बुझेको रसिद हस्तान्तरण गर्दै सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सेवाको शुभारम्भ गर्नुभएको हो।

विराटनगर सेवा कार्यालयले वार्षिक सवारी कर, सवारी धनी प्रमाणपत्र (ब्लु वुक) नविकरण, बाटो इजाजत नविकरण, सवारी साधन जाँचपास, अस्थायी रुट इजाजत (पटके) र सवारी साधन कर उठाउनेलगायतका छ प्रकारको काम गर्दै आएकोमा अबदेखि सवारी अनुमतिपत्र नविकरणको काम पनि हुने भएको छ।

नविकरण सेवाको शुभारम्भ गर्दे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री पण्डितले सवारी चालक अनुमतिपत्र नविकरणजस्ता सहज कार्यमा सेवाग्राहीले बेहोर्नु पर्ने समस्या र झन्झट अब अन्त्य भएको बताउनुभयो। उहाँले जनताले घण्टौं लाइनमा बस्नुपर्ने र महिनौ लाग्ने कार्य अन्त्य गरी छिटोछरितो सेवा प्रदान गर्न सरकार क्रियाशील भएर अघि बढेको बताउनुभयो।

उहाँले मुलुकको बदलिँदो परिस्थितिअनुसार यातायात सेवा कार्यालयले मात्र नभई सबै सरकारी कार्यालयहरुले सरल सहज रूपमा सेवाग्राहीले अनुुभूति गर्ने गरी सेवा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा यातायात व्यवस्था विभागका महानिर्देशक रूपनारायण भट्टराईले आगामी साउन १ गतेदेखि प्रदूषण जाँचपासको काम विराटनगर सेवा कार्यालयमार्फत गर्नका लागि आवश्यक उपकरण र जनशक्ति व्यवस्था गरी सेवा विस्तार गर्ने जानकारी दिनुभयो। उहाँले प्रदूषण न्युनिकरणका लागि प्रदूषण जाँचपास नभएका सवारी साधनहरु साउन १ गतेबाट महानगरपालिकाभित्र सञ्चालन नहुने बताउनुभयो।

विभागले पहिलोपटक कोशी अञ्चल यातायात व्यवस्था कार्यालय इटहरीबाट हुँदै आएको सवारी अनुमतिपत्र नविकरणको काम विराटनगरस्थित सेवा कार्यालयबाट आरम्भ गरेको हो। यातायात व्यवस्था विभागले आगामी केही दिनभित्र बर्दिवास, चितवन, सुर्खेतलगायतका सेवा कार्यालयबाट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नविकरणको काम अघि बढाउने तयारी गरेको महानिर्देशक भट्टराईले जानकारी दिनुभयो।