मोदीको भेट प्रचण्डदेखि यादवसम्म


मधुसूदन रायमाझी, काठमाडौं

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका राजनीतिक दलका नेताहरूसँग छुट्टाछुट्टै र सामूहिक भेटवार्ता गर्नुभएको छ। उहाँले उक्त भेटवार्तामा नेपालको समृद्धि आफ्नो चाहना भएको दाबी गर्नुभएको छ।
भेटका क्रममा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मोदीलाई विराटनगरस्थित भारतीय दूतावासको सम्पर्क कार्यालय हटाउन र नेपाल भारत सीमा क्षेत्रमा देखिएका समस्या समाधानका लागि पहल गर्न आग्रह गर्नुभएको थियो। प्रचण्डले सीमा क्षेत्र र विराटनगरको सम्पर्क कार्यालयको समस्या समाधान भए दुई देशको सम्बन्ध थप सुमधुर बन्ने विश्वास व्यक्त गर्नुभएको थियो।

भेटका अवसरमा आफूले यिनै दुई विषयमा जोड दिएको प्रचण्डले दाबी गर्नुभयो। मोदीलाई भेट्न प्रचण्ड मात्र जानुभएको थियो। कोशीको बाढीलगत्तै भारतले राहत तथा उद्धारका लागि सहयोग पुग्ने नाममा २०६५ सालमा विराटनगर–१३ स्थित मलाया रोडमा दूतावासको सम्पर्क कार्यालय स्थापना गरेको थियो। विराटनगरमा भएको दूतावासको सम्पर्क कार्यालय हटाउन पटक–पटक आग्रह गरिए पनि भारतले बेवास्ता गर्दै आएको छ।

मोदीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूसँग सामूहिक रूपमा भेटवार्ता गर्नुभयो। मोदीलाई भेट्न कांग्रेस पदाधिकारीसहितका नेताहरू शनिबार हायात होटल पुग्नुभएको थियो। मोदीले नेपालको विकास र समृद्धिमा भारतको सहयोग रहने बताउनुभएको थियो। मोदीको भनाइ उद्धृत गर्दै कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले भन्नुभयो– ‘नेपालको प्रगति र समृद्धि नै भारतको चाहना हो।’

सो अवसरमा मोदीले चुनाव सम्पन्न गराएकामा देउवालाई बधाई दिनुभएको थियो। आगामी दिनमा दुई देशबीचको सम्बन्ध राम्रो हुँदै जाने विश्वास व्यक्त गर्दै मोदीले पार्टी टु पार्टी सम्बन्ध पनि मजबुत होस् भन्ने चाहना व्यक्त गर्नुभएको थियो। टोलीमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय डा. शशांक कोइराला र पूर्णबहादुर खड्कालगायतका नेताहरू हुनुहुन्थ्यो।

यस्तै मोदीले मधेसवादी दलहरूसँगको भेटमा एक भएर अघि बढ्न सुझाव दिनुभएको छ। उहाँले राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई सबै मधेसी दलहरूलाई मिलाएर आफ्नो शक्ति बढाउन सुझाव दिनुभएको थियो। अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले मोदीको भनाइ उद्धृत गर्दै नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘जनकपुरमा गर्नुभएको तयारीले म निकै खुसी छु, जनताको माया पाएँ, जानकी मन्दिरमा पूजा गर्न पाउँदा म निकै खुसी छु।’ प्रधानमन्त्री मोदीले निर्वाचनमा मिलेर चुनाव लड्नु सकारात्मक पक्ष भएकाले थप मजबुत बन्न सुझाव दिनुभएको मोदीको भनाइ दोहो¥याउँदै यादवले थप्नुभयो– ‘आफ्नो शक्ति बढाउन र विकास निर्माणमा लाग्नुहोस्, झिनामसिना काममा नअल्झीकन काम गर्नुहोस्।’

सो भेटका क्रममा अध्यक्ष ठाकुरले भने आफूहरू संविधान संशोधनलगायतका विषयमा संघर्षरत रहेको बताउँदै प्रदेश नम्बर २ मा आफ्नै पार्टीको सरकार रहेको, केन्द्रमा केपी सरकारलाई समर्थन गरेको र माग सम्बोधन हुनेमा आशावादी रहेको बताउनुभएको थियो।

मोदीलाई भेट्न ठाकुरसहित राजेन्द्र महतो, अनिल झा, राजकिशोर यादव, शरतसिंह भण्डारी र महेन्द्र राय यादव जानुभएको थियो। संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि मोदीलाई एक्लै भेट्नुभएको थियो। भेटका क्रममा यादवले दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन मोदीले खेलेको भूमिकाको प्रशंसा गर्नुभएको बताइएको छ। पारस्परिक सहयोग र विकासका विषयमा प्रधानमन्त्री मोदीस“ग कुराकानी भएको अध्यक्ष यादवले बताउनुभयो। उहा“ले मोदीलाई एक्लै भेट्नुभएको थियो।