मुक्तिनाथमा मोदी भावविभोर


दुर्गाप्रसाद शर्मा, पर्वत

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरको पूजा गर्ने क्रममा आफू मुक्तिनाथ पहिले नै आएको खुलासा गर्नुभएको छ।

मुक्तिनाथमा पूजाका लागि जाने क्रममा कसैसँग प्रतिक्रिया नदिएका मोदीले मन्दिरभित्र पूजा गर्ने क्रममा भने पुजारीसँग आफू युवा अवस्थामा नै मुक्तिनाथ आएको खुलासा गर्नुभएको हो।

पूजाका क्रममा मन्दिरको मूर्तिभन्दा तल रहेको ‘गर्भगृह’का बारेमा पुजारी कृष्णप्रसाद सुवेदीले वर्णन गर्ने बेला उल्टै पुजारीलाई आफू त्यहाँ आउँदा देखेको कुरा वर्णन गरिदिनुभएको हो। ‘मैले पूजा गराउने क्रममा गर्भगृहलगायतका विषयमा वर्णन गर्दै थिएँ’, पुजारी कृष्णप्रसाद सुवेदीले भन्नुभयो– ‘उल्टै मलाई उहाँले वर्णन गरिदिनुभयो।’

मोदीले आफू २०–२२ वर्षको उमेरमा मुक्तिनाथ आएको र अहिले धेरै परिवर्तन भएको सुनाउनुभएको थियो। ‘मन्दिरमा रहेको शालिग्राम खण्ड र गर्भगृहमा पहिले पानी बग्ने गरेको, शालिग्रामहरू यस्तो अवस्थमा रहेको भनेर पुराना दिन स्मरण गर्नुभयो।’ –पुजारी सुवेदीले नेपाल समाचारपत्रसँग भन्नुभयो।

मन्दिरमा मोदीलाई पर्यटनमन्त्री रवीन्द्र अधिकारी र प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्वागत गर्नुभएको थियो। मुक्तिनाथमा उहाँले करिब एक घण्टा बिताउनुभएको थियो। एकघण्टाको बसाइमा उहाँले मुक्तिनाथको पूजाअर्चना गर्नुभयो तर त्यहाँ कुनै कुरा औपचारिकरूपमा भने बोल्नुभएन।

मोदीले विभिन्न व्यक्तिलाई भेटेको समेत लाइभ गर्न भ्याए। उहाँको आफ्नै च्यानलबाट पनि दशकौं पहिले मुक्तिनाथ पुगेको कुरा खुलेका थिए। त्यस्तै, मोदी प्रधानमन्त्रीका रूपमा पहिलोपटक नेपाल आउँदा आफैँले संसद्मा नेपालीमा भाषण गर्दै भन्नुभएको थियो– ‘धेरै वर्षअघि एक पथिक यात्री र तीर्थालुका रूपमा म मुक्तिनाथ पुगेको थिएँ।’ मोदी वैवाहिक जीवनबाट बिरक्तिएर मुक्तिनाथको साधना गर्न पुगेको बताइन्छ। मुक्तिनाथ मन्दिरमा पूजा गर्ने क्रममा मोदीले आशीर्वाद लिने क्रममा आँशुसमेत झारेको खुलासा पुजारी कृष्णप्रसाद सुवेदीले गर्नुभएको छ।

पुरै धार्मिक विधिपूर्वक पूजा गर्नुभएका मोदीले पुजारीले आफ्ना मनोकांक्षाहरू भए भगवान्सँग माग्नुस् भन्दा आँशु झार्नुभएको थियो। ‘मैले हुजरले ध्यान लगाएर आफ्नो लागि वर माग्नुस् भनेँ, उहाँ भावविभोर भएर आँशु खसाल्नुभयो’, उहाँले भन्नुभयो– ‘मैले उहाँमा अति धेरै श्रद्धा, विश्वास र प्रशन्नता देखेँ।’

भारतीय पर्यटक दोब्बर बढ्ने विश्वास
यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथ मन्दिरमा पूजा अर्चना गरेपछि त्यसको प्रभाव यस क्षेत्रको पर्यटन उद्योगमा पनि पर्ने विश्वास गरिएको छ। हिन्दु धर्मालम्बीको आस्थाको केन्द्र भएकाले मोदीको भ्रमण र पूजाअर्चनाले भारतीय पर्यटक र तीर्थयात्रीको संख्या कम्तीमा पनि दोब्बर हुने विश्वास लिएको प्रदेश नं ४ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बिकास लम्सालले बिश्वास व्यक्त गर्नुभयो। ‘यो भ्रमणले प्रदेश नं ४ को धार्मिक तथा पर्यटकीय क्षेत्रमा झनै ठूलो परिर्वतन आउने छ’, उहाँले भन्नुभयो– ‘पर्यटन उद्योगको विकासमा यो महत्वपूर्ण कोशेढुंगा सावित हुनेछ।’

मोदीको धार्मिक भ्रमणले मुक्तिनाथको झनै महत्व बढ्ने विश्वास स्थानीयमा पनि छ। मुक्तिनाथमा अहिले दैनिक ५ सय भारतीय पर्यटक आउने गरेका छन्। अब त्यो संख्या १ हजार पुग्ने विश्वास गरिएको छ। अहिलेको संख्यामा कम्तीमा पनि दोब्बर संख्याले बढ्ने विश्वास स्थानीयमा रहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले बताउनुभयो।