‘अनुदानको आशमा त्रिपाल मूनिकै बास’

0
Shares

रामधन राई,खोटाङ । खोटाङका भुकम्प पीडित लाभग्राहीले यो वर्ष पनि त्रिपाल मूनि नै बिताउनुपर्ने अवस्था आएको जनाएका छन् । जिल्लाका रावाबेँसी गाउँपालिकाका भूकम्प पीडित लाभग्राहीले नीजि आवास पूर्ननिर्माणको लागि आउने दोश्रो किस्ता अनुदान बापतको रकम पाउन नसक्दा यो वर्षको झरीबादल पनि त्रिपाल मुनि नै बिताउनु पर्ने अवस्था आएको जनाएका हुन् ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणबाट २०७४ कार्तिकमा पाएको पहिलो किस्ता बापतको ५० हजार रुपैयाँ रकमले तत्कालै डीपीसीको काम सके पनि हालसम्म दोश्रो किस्ता पाउन नसक्दा निर्माणधीन आवासलाई पूर्णता दिन नसकिएको स्थानीय लाभग्राहीले गुनासो गरेका छन् ।

माघमै घरको डिपीसी सकेर दोस्रो किस्ताको फर्म बुझाए पनि अहिलेसम्म दोस्रो किस्ता रकम पाउन नसकिएको तीन नम्बर वडामा पर्ने लामिडाँडाका धर्मबहादुर परियारको दुखेसो छ ।

प्राबिधिककै सल्लाहमा डीपीसी सके पनि घर निर्माणको लागि प्राविधिक सहयोग र दोश्रो किस्ता रकम नपाउँदा यो बर्ष पनि त्रिपाल मूनि नै रात कटाउनुपर्ने अवस्था आएको पाँच जना परिवारको अभिभावक परियारको भनाई छ । ‘आशैआशा त्रिपालकै बास’ भएको उहाँको कथन छ  ।

उक्त पालिकामा अझै पनि त्रिपाल मुनि नै बस्नेमा सुत्केरी महिला, बालबालिका तथा बृद्दबृद्दाहरु समेत उल्लेख्य रहेका छन् ।

कतिपयले वर्षाबाट जोगिन ऋण खोजेर घरको छानो हाले पनि अवला तथा गरिबले त्रिपाल मुनिकै बास बस्नुपर्ने अवस्था रहेको सोही ठाउँको कृष्ण परियार बताउनुहुन्छ । भुकम्पले भत्काएको घर निर्माण गरि नसक्नेमा सो स्थानका दलित तथा मगर समुदाय बढी रहेका छन् । पीडितका अनुसार घरको डिपिसी लेबल गर्दासम्म ईन्जिनियरले अनुगमन गरे पनि त्यसपछि बेवास्ता गरिएको छ ।

वडामा खटिएका इन्जिनियर लामो समय बिदामा बसेको कारण भूकम्प पीडितले दोस्रो किस्ता पाउन नसकेको पालिकाको अध्यक्ष लिलानाथ निरौलाले स्पष्ट पार्नुभयो । यद्यपि, पहिलो किस्ता पाएर ऋणमै भए पनि घरको छानोसम्म हालिसकेका पीडितको सङ्ख्या उल्लेखनीय रहेको अध्यक्ष निरौलाले जनाउनुभयो ।

जिल्ला समन्वय समितिका आवास अनुदान सम्पर्क व्यक्ति रविकिरण आचार्यका अनुसार ३ सय ८१ भूकम्प पीडितले आवास अनुदान बापतको पहिलो किस्ता रकम नै अझै पाउन सकेका छैनन् । जिल्लामा कूल ८ हजार ४ सय ४३ लाभग्राही रहेकोमा बिभिन्न प्राविधिक कारण उक्त सङ्ख्याले पहिलो किस्ता पाउन नसकेको आचार्यले सुनाउनुभयो ।