काठमाडौं । आफैंले गोली हान्न लगाएको आरोपमा पक्राउ परेका हिन्दु धर्मगुरु आचार्य श्रीनिवासलाई हातहतियार तथा खरखजाना मुद्दामा मोरङ प्रहरीले प्रक्रिया अघि बढाएको छ।
सोमबार काठमाडौंबाट पक्राउ परेका आचार्यलाई मंगलबार मोरङ प्रहरीले हातहतियार तथा खरखजनामा मुद्दा चलाउने तयारी भइरहेको मोरङ प्रहरी प्रमुख एसपी अरुण बीसीले जानकारी दिए।
गोली काण्डमा पक्राउ परेका माधव चौधरी र लक्ष्मीराज अधिकारीलाई भने ज्यान मार्ने उद्योग मुद्दामा चलाइएको छ।
चौधरी आचार्यका अंगरक्षक हुन् र उनले नै गोली हानेका थिए भने अधिकारीले हतियार व्यवस्थापन गरेका थिए।
आचार्यमाथि चैत २५ गते मोरङको रानी जतुवामा रहेको जानकी मन्दिरमा सप्ताह लगाउन पुगेका श्रीनिवासमाथि गोली प्रहार भएको थियो। तर, अनुसन्धानका क्रममा आफैंले योजना बनाएर गोली हान्न लगाएको देखिएपछि आचार्यलाई सोमबार पक्राउ गरिएको हो।
हिन्दु राज्यको माग गर्दै गरेको आन्दोलन सफल नभएपछि आचार्यले धार्मिक हिंसा भड्काउन उक्त कार्य गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।











प्रतिक्रिया