कालिकोट । सांसदहरुले हिमाली जिल्ला पनि ठूला परियोजना संचालनका लागि बजेटको व्यवस्था गर्न सरकारसँग माग गरेका छन ।
नेकपा माओवादी केन्द्रबाट निर्वाचित कालिकोेटका प्रतिनिधिसभाका सांसद दुर्गाबहादुर राउत र राष्ट्रियसभाका सांसद जीवन बूढाले संघीयताको मर्म अनुसार हिमाली र पहाडी जिल्लामा पनि ठूलो परियोजना संचालन गर्न आवश्यक बजेटको व्यवस्था गरिदिन पार्टीका अध्यक्ष एवम् संसदीय दलका नेता पुष्पकमल दाहालको पनि गम्भिर ध्यानाकर्षण गराउनु भएको हो ।
मंगलबार पार्टी संसदीय दलको कार्यालयमा दुवैै सांसदहरूले केन्द्र सरकारले हिमाली जिल्लामा कुनै पनि परियोजना नपार्ने षडयन्त्र गरिरहेको भन्दै आपत्ति समेत जनाउनुभएको छ । प्रतिनिधिसभाका सांसद राउतले संघीयताको मर्म विपरित हुने गरी बजेट आए मान्य नहुने चेतावनी समेत दिनुभयो ।
राष्ट्रियसभाका सांसद बूढाले हिमाली जिल्लालाई पनि सम्बोधन हुने गरी बजेट ल्याउन पार्टी अध्यक्ष दाहालसँग जोडदार माग गरिएको बताउनुभयो । संसदीय दलको बैठकमा दुवै सांसदहरुले संवैधानिक व्यवस्था अनुसार हिमाली जिल्लामा पनि बजेटको आवश्यक व्यवस्था गर्न माग गरेका थिए ।
सरकारले जनसंख्यालाई मूल आधार बनाएर बजेट ल्याउने तयारी गरेको छ । तर कालिकोटका सांसदहरुले भने त्यसो गर्दा आफूहरुको जिल्लामा एउटा पनि ठूला योजना नपर्ने भन्दै आपत्ति जनाएका हुन । उनीहरुले दूर्गम क्षेत्रलाई सुगम बनाउने संघीयताको मर्म अनुसार बजेट तथा नीति कार्यक्रम ल्याउन सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन । सरकारले आगामी जेठ १५ गते बजेट ल्याउँदैछ ।











प्रतिक्रिया