साताभर नेप्से १७ अंकले बढ्यो, कारोबार रकम भने कम

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १७ दशमलव १४ अंकले बढेर कारोबारको अन्तिम दिन १ हजार ३ सय ६६ दशमलव १५ अंकमा पुगेको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जमा १ सय ७६ कम्पनीको कारोबार भएको छ। जसअनुसार १८ हजार ४ सय ८३ कारोबारबाट १ अर्ब ५६ करोड ७० लाख ४२ हजार रुपियाँ बराबरका ३२ लाख ४४ हजार ५ सय कित्ता शेयर खरिद बिक्री भएका छन्।

कारोबार रकम गत साताको भन्दा ६६ दशमलव ६३ प्रतिशत कम हो। गत साता १ सय ८२ कम्पनीहरूको कारोबार भएको थियो। जसअनुसार ४७ हजार ७१ कारोबारबाट ४ अर्ब ६९ करोड ६१ लाख ७९ हजार रुपियाँ बराबरका १ करोड १ लाख ८५ हजार कित्ता शेयरहरू खरिद बिक्री भएका थिए।

‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ३ दशमलव ३३ अंकले बढेर २ सय ८८ दशमलव २९ अंकमा आईपुगेको छ।

यस साता कारोबार रकमका आधारमा सबैभन्दा बढी नेपाल बैंक लिमिटेडको ८ करोड ५९ लाख २० हजार रुपियाँ बराबरको कारोबार भएको छ।

त्यसैगरी कारोबार भएको शेयर संख्याका आधारमा पनि नेपाल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ। साताभर बैंकको २ लाख ४२ हजार कित्ता शेयर कारोबार भएको छ। कारोबार संख्याका आधारमा भने स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको (१ हजार ६ सय ३० वटा कारोबारसहित अग्रस्थानमा रहेको छ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि तिन दिन खुला रह्यो। यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरूको कुनै पनि कारोबार भएन।