संसद् अधिवेशन आजदेखि


गंगा बराल, काठमाडौं
संघीय संसद्को दोस्रो अधिवेशन आजबाट शुरू हुँदै छ। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज ४ बजेबाट शुरू हुने गरी बैठक बोलाउनुभएको हो।

संविधानअनुसार संसद् अधिवेशनको आ≈वान र अन्त्य राष्ट्रपतिले गर्ने व्यवस्था छ। वैशाख १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले बैठक आ≈वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।

संसद् सचिवालयले सोमबार सूचना प्रकाशित गरी संघीय संसद् सदस्यलाई बैठकमा सहभागिताका लागि आ≈वान गरेको छ। संघीय संसद्को पहिलो बैठक फागुन २१ गतेबाट ठीक १ महिनासम्म चलेर फागुन २० गतेबाट अन्त्य भएको थियो। प्रतिनिधिसभामा ११ र राष्ट्रियसभामा १० वटा बैठक बसेका थिए।

बैठकको शुरूमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्निाले आ–आफ्नो सभामा राष्ट्रपति कार्यालयबाट बैठक आ≈वानसम्बन्धी प्राप्त पत्र पढेर सुनाउनुहुनेछ। सभामुख महराले बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी अधिवेशनभरको सम्भावित कार्यसूचीबारे जानकारी गराउनुभएको थियो।
उहाँले असार अन्तिम सातासम्मको कार्ययोजना प्रस्तुत गर्नुभएको हो। जसअनुसार जेठ १ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ।

जेष्ठ १५ गते सरकारले आर्थिक वर्ष ०७५÷०७६ को बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ। संघीय मामिला तथा संसदीय मामिला मन्त्रालयका कानुन तर्जुमा शाखाका अधिकृत प्रकाश न्यौपानले आइतबारको बैठकमा ३ वटा अध्यादेश र एउटा विधेयक प्रस्तुत हुने सम्भावना रहेको बताउनुभयो।

न्यौपानेले संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक सेवा, सर्त र सुविधाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ सम्बन्धी अध्यादेश शाखामा आइसकेको जनाउनुभयो।

संसद्को विधेयक शाखाकी शाखा अधिकृत दीपाकुमारी दुलालले शाखामा शुक्रबार अन्तिम समयसम्म राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७५ र सार्वजनिक सुरक्षा ऐन, २०४६ लाई संशोधन गर्न बनेको विधेयक दर्ता भएको बताउनुभयो। यीबाहेक राष्ट्रियसभा निर्वाचनसम्वन्धी अध्यादेश पनि संसद्मा प्रस्तुत गर्ने सचिवालयको तयारी रहेको छ।बेलायती संसद् टोली आउँदै बेलायती संसद्को टोली आइतबार नेपाल आउँदै छ। संघीय संसद्का प्रवक्ता डा. भरतराज गौतमका अनुसार टोली केही दिन नेपाल बस्नेछ।टोलीले नेपालका सांसदसँग अन्तरक्रिया गर्ने जनाइएको छ।

‘६–७ जनाको टोली हुन सक्छ, संसदीय गतिविधिका विषयमा अन्तरक्रिया र अनुभव साटासाट हुन्छ’, गौतमले भन्नुभयो– ‘यस्तो अभ्यासले संसदीय गतिविधिलाई थप बलियो बनाउनेछ।’ टोली ५–६ दिन नेपाल बस्ने जनाइएको छ। संसद् सचिवालयको अन्तर्राष्ट्रिय सम्पर्क तथा समन्वय शाखाकी उपसचिव रेखा उपाध्याय खनालले भ्रमणको तयारीका लागि आवश्यक व्यवस्थापन भइरहेको जनाउनुभएको छ।

 

थुनामा परे पनि सांसद पद नजाने

काठमाडौं, (नेस)
आपराधिक गतिविधिमा संलग्न भएको अभियोगमा पुर्पक्षका लागि थुनामा परे पनि संघीय संसद्का सदस्यको पद निलम्बन नहुने भएको छ। संघीय संसद्का दुवै सदनले नियमावलीमा यस्तो व्यवस्था गरेका हुन्।

तर अभियोग लागेका सांसदलाई सेवा, सुविधा र अधिकार प्रयोग गर्न नपाउने व्यवस्था गरिएको नियमावली मस्यौदा समितिका सदस्य राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद लक्ष्मणलाल कर्णले जनाउनुभयो। यसअघि आपराधिक कार्य गर्ने सांसदलाई निलम्बनको व्यवस्था थियो। राष्ट्रियसभा नियमावली मस्यौदा समितिका सदस्य सुरेन्द्रराज पाण्डेले पनि आपराधिक गतिविधि भएको अभियोगमा पुर्पक्षका लागि थुनामा परे पनि सांसदको पद निलम्बन नहुने व्यवस्था रहेको जनाउनुभयो।

मस्यौदा समितिले दुवै नियमावली शनिबार मात्र टुंग्याएका छन्। नियमावली सम्बन्धित सभामा आज आइतबार प्रस्तुत गर्ने सम्भावना छ। नियमावलीलाई सदनले पास गरेपछि त्यही व्यवस्थाअनुसार संसद् सञ्चालन हुनेछ। प्रतिनिधि सभामा १३ जना र राष्ट्रियसभामा ९ जना रहेको मस्यौदा समिति गठन गरिएको थियो। केही अलमलिएका विषय यसअघि नै टुंग्याइसकिएको छ। दुवै सदनमा एउटै व्यवस्था रहेको छ।

प्रतिनिधिसभामा १० वटा समिति रहने भएका छन्। नेपाली कांग्रेसले ७ वटा मात्र समिति राख्ने अडान राखेको थियो। कांग्रेसको असहमति हुँदाहुँदै १० वटा समिति पास गरिएको कर्णले जनाउनुभयो। नियमावली आइतबार बस्ने संसद्का दुवै सदनमा पेस हुनेछन्।