एक वर्षीय बालक अपहरणमा तीन जनालाई सजाय, मुख्य  कसुरदारलाई १२ वर्ष कैद

6.39k
Shares

धादिङ ।

एक वर्षीय एक बालक अपहरण तथा शरीर बन्धक मुद्दामा जिल्ला अदालतले मंगलबार तीन  जनालाई कैद तथा जरिवाना गर्ने फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश  गोपाल प्रसाद वास्तोलाको इजलासले अपहरणमा तथा शरीर बन्धक मुद्दामा २५ वर्षीय फुपुदिदिलाई ४ वर्ष र सङ्गठित अपराध मुद्दामा २ वर्ष कैद गर्ने र ४० हजार जरिवाना गर्ने फैसला गरिएको छ ।

यसै गरी अपहरण पछि बच्चा लुकाएर राख्ने तनहुँ जिल्ला  भिमाद नगरपालिका–७ का ३३ वर्षीया शारदा क्षेत्री विकलाई अपहरण तथा शरीर बन्धक तथा शरीर बन्धक मुद्दामा मुख्य कसुरदार ठहर गर्दै  १० वर्ष कैद र सङ्गठित अपराधमा थप २ वर्ष  कैद  गर्न र १ लाख जरिवाना गर्ने फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार माधव भण्डारीले जानकारी दिए । यसै गरी शारदाका  पति २७ वर्षीय कमल विकलाई अपहरण तथा शरीर बन्धक मुद्दामा मतियार ठहर गर्दै ५ वर्ष कैद गर्ने फैसला गरिएको छ ।

कसुरदारहरुले फुपुदिदिको सहयोगमा एक वर्षीय बालकको ०८० माघ २० गते अपहरण गरी  काठमाण्डौमा लगेर लुकाइ राखेका थिए । पीडित पक्षको उजुरीपछि आरोपितहरूलाई प्रहरीले माघ २३ गते गिरफ्तार गरेको थियो ।

पीडित बालकको प्रहरीले माघ २१ गते बिहान काठमाडौँ महानगरपालिका रातोपुल फोहार फाल्ने ठाउँबाट उद्धार गरी राखेकोमा परिवार पत्ता लगाइ माघ २२ गते परिवारको जिम्मा लगाइएको थियो । आरोपितहरूलाई अपहरण तथा  शरिरबन्धक मुद्दामा माघ २२ गते जिल्ला  अदालतको आदेशबाट हिरासतमा राखिएको थियो ।

०८० फागुन १५ गते जिल्ला सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालतमा दर्ता भएको अपहरण तथा शरीर बन्धक मुद्दामा जिल्ला अदालतको फागुन १८ गतेको आदेशले आरोपितहरूलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । यसपछि उच्च अदालतले मुख्य आरोपित शारदा, बालकका फुपु दिदिलाई ३०-३० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो । कमललाई भने २० हजार धरौटीमा रिहा गरेको थियो ।

बालकका फुपु दिदिलाई बालकका पिताले बलात्कार गरेको रिसमा अन्य सहयोगि लिएर फुपुले अपहरण गरेको कसुरदारहरुले घटना भएको समयमा बताएका थिए ।