नेपाल समाचारपत्र, काठमाडौं ।
सिण्डिकेटको पक्षमा रहेका यातायात व्यवसायीहरुले थालेको यातायात बन्दको प्रभाव देशैभरि देखिएको छ । शुक्रबार बिहान काठमाडौं लगायत देशका विभिन्न शहरमा भाडाका सवारी साधनहरु थोरै चलेको देखिएका छन् । मुलुकका केहि शहरी क्षेत्रमा भने सडक सुनसान बनेको छ ।

काठमाडौंमा बिहानै भाडाका सवारी साधनहरु नचले पनि निजी सवारी साधन र भाडाका केहि सवारीहरु अत्यान्तै न्युन मात्रामा चलिरहेका छन् । उपत्यकाको बसपार्क क्षेत्रमा भने ठुलो मात्रामा सवारी साधनहरु थन्काइएको देख्न सकिन्छ ।
कक्षा १२ को परीक्षार्थीहरु बढी प्रभावित
साथै लामो दुरीका सवारी साधन ठप्प पारिएको छ । टिकट काउन्टर पनि हिजोबाट नै बन्द छन् । यसले गर्दा यात्रुहरु बसपार्कमै अलपत्र परेका छन् । विदेशबाट स्वदेश गन्तव्यमा प्रस्थान गर्नुअघि बस राखिने ट्राकहरु सुनसान छन् । गाडी नपाएर यात्रुहरु अलपत्र परेका छन् ।
यस्तै प्रदेश नम्बर पाँचका १२ वटै जिल्लामा सार्वजनिक यातायातहरु पुर्ण रुपमा ठप्प छन् । मुलुकका मुख्य शहरहरु विरगंज, विराटनगर, धरान, भैरहवा, बुटवल, दाङ, सुर्खेत लगायत अधिकांश स्थानमा बन्दको प्रभाव देखिएको छ । सवारी नचल्दा सर्वसाधारण यात्रु अलपत्रमा पर्नुका साथै निकै नै ठुलो समस्या खेप्नुपरेको छ । मुख्यत बिरामीहरुलाई समस्या पर्ने गरेको देखिएको छ ।

प्रदेश ५ को राजधानी बटवलमा पनि बन्दको प्रभाव परेको छ । सडकहरु र बसपार्कसमेत सुनसान देखिएका छन् । यातायात व्यवसायीको हड्तालको प्रभाव प्रदेश नंं ५ का जिल्लाहरुमा पनि परेको छ ।

बस सञ्चालन सेवाभित्र रहेका पश्चिम नेपाल बस व्यवसायी संघ, सिद्धार्थ यातायात, बुटवल यातायात, गुल्मी यातायात, सुपा देउराली यातायात लगायतका बस तथा जीप समितिले आफ्ना टिकट काउन्टरहरु बन्द गरेर बसपार्क खाली गराएका छन् । बुटवलको नयाँ बसपार्कमा एउटा पनि सवारी साधन पनि नभएको खबर बुटबल स्थित नेपाल समाचारपत्रकर्मी यमलाल भुसालले जानकारी दिनुभएको छ । सार्वजनिक बस नचल्दा हाल चलिरहेको कक्षा १२ को परिक्षार्थीहरु प्रभावित बनेका छन् ।
यता पश्चिम नेपाल बस व्यवसायी संघले वैशाख २१ गते बिहान ४ बजेदेखि २२ गते बिहान ४ बजेसम्म बस नचलाउन आफ्ना सदस्यहरुलाई निर्देशन दिँदै चलाएमा सदस्यता खारेज गर्ने चेतावनी समेत दिएको छ ।

सरकारले भने सेवा अवरुद्ध गर्ने सवारीसाधनको रुट परमिट नै खारेज गरिदिने चेतावनी दिइसकेको छ ।
अघिल्लो सातामात्रै मन्त्रिपरिषदले सार्जजनिक यातायातलाई अत्यावश्यक सेवा अन्तरगत राख्दै यातायात बन्द गर्न नपाइने निणर्चय गरेको थियो ।
तर, यातायात व्यवसायीले सरकारलाई चुनौती दिँदै बन्दको आयोजना गरेका हुन् ।
यसले गर्दा सरकार र यातायात व्यवसायीबीचको द्धन्द्धको चपेटोमा जनता परेका छन् ।











प्रतिक्रिया