नेपाल समाचारपत्र
काठमाडौं
बुद्ध एयरले ७२ सिट क्षमताको थप एटीआर–७२ जहाज भिœयाउने भएको छ । यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट आवश्यक अनुमति पनि प्राप्त गरिसकेको छ । नयाँ जहाजको कलसाइन ९ एन–एएमयु रहने कम्पनीका विनीता थापाले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ ।
एटीआरका अन्य विमान जस्तै यसमा पनि फराकिलो सिट र लगेजका लागि पर्याप्त ठाउँ उपलब्ध हुने कम्पनीको दाबी छ । वातावरणीय तथा ध्वनि प्रदूषणको हिसाबले एटीआर जहाज निकै किफायती मानिन्छ ।
काठमाडौंको त्रिभुवन विमानस्थलमा दिनानुदिन बढ्दो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एयर ट्राफिकका कारण विशेषतः आन्तरिक उडानहरु समयमै उडान भर्न अप्ठेरो परिरहेको छ । यसबाट यात्रुसहित विमान कम्पनीलाई पनि निकै समस्या परेको छ । उडान ढिला हुनुमा अर्को मुख्य कारण खराब मौसम पनि हो ।
नयाँ जहाज आइसकेपछि अन्य विमानहरुको नियमित मर्मतसम्भार तथा उडानहरु परिचालन गर्न निकै सहज हुने कम्पनीले जनाएको छ । प्रदेश नम्बर २ को राजविराज विमानस्थलको स्तरोन्नति लगभग पूरा हुन लागेको छ । त्यहाँ विमानलाई तेल भर्नका लागि पनि बुद्ध एयरले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । आवश्यक तयारीपछि बुद्ध एयरले एटीआर विमानबाट परीक्षण उडान भर्नेछ । यो जहाज आएपछि कम्पनीसँग ११ वटा जहाज हुनेछन्। जसमा ७२ सिट क्षमताका ६ वटा एटीआर ७२–५००, ४२ सिट क्षमताका ३ वटा एटीआर ४२–३२० र १८ सिट क्षमताका २ वटा बिचक्राफ्ट १९०० डी रहेका छन् ।
प्रतिक्रिया