नेपाल समाचारपत्र, पर्वत ।
जैमिनी नगरपालिका–१ कुस्मीसेरा प्राथमिक स्वास्थ्य केन्द्रमा स्थायी दरबन्दीका स्टाफ नर्स चित्रकला शर्मा १४ वर्षदेखि बेलायतमा बस्दै आएकी छन । उनी लगातार १४ बर्ष कार्यालयमा अनुपस्थित रहेपनि जागिर कायमै छ।
कार्यालयमा हाजिर नगरि बेलायत बस्दै आएकी शर्माले राजिनामा पनि दिएकी छैनन भने कार्यालयमा १४ बर्ष देखि अनुपस्थित छन । उनको जागिर कायम छ, तलब खातामा गएको देखिरहेको छ ।
स्वास्थ्य सेवा ऐन २०७२ अनुसार दुई वर्ष लगातार हाजिर नभए स्वतः खारेज हुने व्यवस्था छ। स्वास्थ्य केन्द्रमा कार्यरत अहेब मुकुन्द पौडेल भन्छन, ‘उहाँले राजीनामा दिनुभएको छैन। बेलायत जानुभएको हो रे। राजीनामा नगरेका कारण त्यो दरबन्दीमा अर्को कर्मचारी राख्न पनि पाइँदैन।’
चित्रकलाको जागिर कायमै रहेकाले अर्को कर्मचारी राख्न नपाउँदा स्वास्थ्य केन्द्रमा कर्मचारी अभावले सेवा प्रवाहमा समस्या भएको स्वास्थ्य केन्द्रका डाक्टर अर्जुन पौडेलले बताए।
यस विषयमा जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेललले समस्या समाधानको लागि केही दिन अगाडि छलफल गरेको बताए। उनले भने, ‘यो विषयमा हामीले छलफल गरेका छौँ। अब प्रक्रियाअनुसार कारबाही गरेर नयाँ कर्मचारी राख्ने भन्ने कुरा भएको छ।’ प्रमुख पौडेलका अनुसार चित्रकलको तलब स्वास्थ्य केन्द्रमा पठाइएको भएपनि त्यो कार्यालयकै खातामा राखिएको बताए।
पछिल्लो समयमा स्वास्थ्य बिमाका कारण सामान्य बिरामी हुँदा पनि नागरिक अस्पतालमा जाने गरेका कारण केन्द्रमा बिरामीको चाप बढ्न थालेको छ। चौबिसै घण्टा इमेर्जेन्सी सेवा सञ्चालन रहेको केन्द्रमा अहिले दैनिक ५० जना बिरामी आउने गरेका छन्। केन्द्रमा दुई जना डाक्टर, एक जना स्वास्थ्य सहायक, दुई जना अहेब, तीन जना अनमी, एक जना ल्याब एसिस्टेन्ट र चार जना कार्यालय सहयोगी कार्यरत छन्।











प्रतिक्रिया