हिक्मत नेपाली, दैलेख ।
शिक्षकहरुलाई समयको पालना गराउनुका साथै शैक्षिक क्षेत्रलाई गुणस्तरिय बनाउन शिक्षकहरुको उपस्थिति पारदर्शी हुनुपर्ने भन्दै दैलेखको गुराँस गाउँपालिकाले विद्युतीय हाजिरी अनिवार्य गरेको छ । गाउँपालिकाले जिल्लामै पहिलो पटक गाउँपालिका भित्रका माध्यामिक विद्यालयमा विद्युतीय हाजिरी सुरु गरेको हो ।
विद्युतीय हाजिरी गाउँपालिकाका सबै माध्यामिक विद्यालयहरुमा शुरु गरिएको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले जानकारी दिएका छन् । शैक्षिक प्रशासनलाई सुदृढीकरण गर्न गाउँपालिकाका माध्यमिक विद्यालयहरुमा यस्तो प्रविधि अनिवार्य गरिएको गाउँपालिकाले जनाएको छ ।
सबै विद्यालयमा एकरूपता ल्याउने योजनाका साथ काम गरिएको अध्यक्ष ओलीको भनाइ छ । ‘एउटा शिक्षकले दिनमा दुईपटक हाजिर लगाउनुपर्छ,’ उनले भने, ‘बिहान १० बजे, र बेलुका ४ बजे ।’ यसको लेखाजोखा सबै विद्यालय आ–आफूले राख्नेछन् र मासिक रूपमा गाउँपालिका कार्यालयमा ल्याएर बुझाउने छन् ।’
अनुशासन र समयको पालना गराउनु साथै शिक्षा क्षेत्रलाई मर्यादित बनाई अध्ययन अध्यापनलाई गुणस्तरिय बनाउन विद्यालयमा विद्युतिय हाजिरीको व्यवस्था गरिएको अध्यक्ष ओलीले बताए । अब विगतमा जस्तो विद्यालय आउने हाजिरी लगाउने अनि जाने दिन गए, उनले भने ‘अब ठिक १० बजे विद्यालय आउनुपर्छ, ठिक ४ बजेसम्म विद्यार्थीहरुलाई गुणस्तरिय शिक्षा प्रदान गर्नुपर्छ ।’
आठ वटा वडा रहेको गुराँस गाउँपालिकामा १० वटै मावीमा विद्युतिय हाजिरी सुरु गरिएको छ । विद्युतिय हाजिरी व्यवस्था गर्दा विद्यालयका शिक्षकले १० देखि ४ बजेसम्म बसे नबसेको थाहा हुने र शिक्षकले विद्यालयमा समय दिँदा पढाई गुणस्तरिय हुने अपेक्षा गरिएको छ ।
विद्यालयमा विद्युतिय हाजिरी गर्नको लागि तालिम समेत दिएको गाउँपालिकाका सुचना प्राविधिक योगेश जिसीले बताए । विद्युतिय हाजिरी सेवा संचालन भएपछि शैक्षिक क्षेत्र सुधार हुने अपेक्षा लिएको गाउँपालिका शिक्षा शाखा प्रमुख महेश केशर खनालले जानकारी दिए ।
गुराँस गाउँपालिकाले गाउँ कार्यपालिकाको कार्यालयमा यसअघि नै विद्युतीय हाजिरी र सीसी टिभि जडान गरीसकेको छ । यसले गाउँपालिकामा काम प्रभाकारी हुँदै गएको सेवाग्राहीले बताएका छन् । गाउँपालिकाका सबै वडा कार्यालय र स्वास्थ्य कार्यालयमा समेत विद्युतीय हाजिरी जडान गरिने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका सबै कार्यालयमा सीसी टिभीसँगै सफ्टवेयर पनि संचालन गर्ने तयारी गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्त बहादुर मल्ले जानकारी दिएका छन् ।











प्रतिक्रिया