चुरे क्षेत्रका बस्तिमा लिफ्ट र आकाशे पानी संकलन प्रणाली

0
Shares

गणेश घिमिरे, इलाम । खानेपानीको सहज पहुँच पुग्न नसकेका जिल्लाका ग्रामिण भेगमा लिफ्ट र आकाशे पानी संकलन प्रणालीबाट खानेपानी वितरण गर्न प्रकृया थालिएको छ । पानीको मुहान नभएका चुरे क्षेत्रका बस्तिमा अहिले खानेपानीको हाहाकार छ ।

चुरे क्षेत्रमा पर्ने आधा दर्जन बढि गाउँका बासिन्दा एक गाग्री पानी लिन घण्टौंसम्म धाउनुपर्ने बाध्यतामा रहँदै आएका छन् । त्यसैलाई मध्यनजर गर्दै खानेपानी तथा सरसफाई डिभिजन कार्यालय इलामले लिफ्ट र आकाशे पानी संकलन प्रणालीबाट बितरण गर्न प्रकृया थालेको हो । कार्यालयका अनुसार लिफ्ट प्रणालीका खानेपानी आयोजना निर्माण हुनेछन् । मुहान नभएका क्षेत्रमा लिफ्ट प्राणालि र आकाशे पानी संकलनका योजना कार्यान्वयन अध्ययन सुरु भइसकेको कार्यालयका प्रमुख मोसिउर रहमानले बताए ।

जिल्लामा ८७ प्रतिशत जनसंख्याको घरमा खानेपानी पुगेपनि जिल्लाका चुरे क्षेत्रका बस्तीका १३ प्रतिशत जनसङख्यामा सुख्खायाममा बर्षेनि खानेपानीको हाहाकार हुने गर्दछ । बर्षातका ६ महिना स्थानीय कुवा तथा खोल्सिमा जम्मा भएको पानीलाई नै जम्मा गरेर चुरे क्षेत्रका बासिन्दालाई शुद्ध पानी वितरणका लागि स्थानीय खोलाबाट लिफ्ट प्रणाली मार्फत खानेपानी वितरण गरिने भएको हो । खानेपानीको पहुँचमा नभएका चुरे क्षेत्रका बासिन्दाका लागि स्वच्छ खानेपानी वितरण गर्न बस्तिभन्दा मुनि रहेका मुहानबाट पानी तानेर वितरण गर्न खानेपानी तथा सरसफाई डिभिजन कार्यालय लागेको हो ।

४७ वटा खानेपानी आयोजना संचालन हुँदै आएको इलाममा स्वच्छ खानेपानी वितरण गर्न पानी प्रशोधन केन्द्र अनिवार्य जडान गरिनेछ । पानी प्रशोधन केन्द्र नबनाइएका पुराना खानेपानी आयोजनाबाट पनि स्वच्छ खानेपानी वितरण गर्न प्रशोधन केन्द्र बनाउने खानेपानी तथा सरसफाई कार्यालयको योजना छ । दक्षिणि इलाम र उच्च पहाडी क्षेत्रका जनताले मुहान अभावका कारण खानेपानीका लागि घण्टौसम्म खोला र खोल्सि धाउनु पर्ने बाध्यता रहँदै आएको छ ।