क्याटालोनिया पृथक्तावादी नेता पुजिमोन्ट जर्मनीमा पक्राउ

0
Shares

बर्लिन, (एजेन्सी)
युरोपेली पक्राउ वारेन्ट सूचीमा परेका क्याटालोनियाका पूर्वराष्ट्रपति कार्लस पुजिमोन्टलाई जर्मनीका प्रहरीले गिरफ्तार गरेको छ।

स्पेनमा राजद्रोह र विद्रोहका लागि वारेन्ट जारी गरिएका पुजिमोन्टलाई डेनमार्कबाट बेल्जियम जाने क्रममा पक्राउ गरिएको उनका वकिलले जानकारी दिएका हुन्। पुजिमोन्ट बिहीबार फिनल्यान्डको यात्रामा थिए। उनी त्यहाँको प्रशासनले पक्राउ पर्नुअगाडि शुक्रबार फिनल्यान्डबाट बाहिर आएका थिए।

गत वर्ष अक्टोबरमा क्याटालोनियाको संसद्ले स्पेनबाट एकतर्फी स्वतन्त्र भएको घोषणा गरेको थियो। त्यही बेलादेखि पुजिमोन्ट देशबाट बाहिर बेल्जियममा बसिरहेका थिए।

हालै उनका विरुद्ध युरोपेली पक्राउ वारेन्टलाई पुनः सक्रिय गरिएको थियो। स्पेनमा उनीमाथि राजद्रोह र विद्रोहको आरोप प्रमाणित भएमा उनले ३० वर्ष जेल बस्नुपर्ने हुन सक्छ।
जर्मनीका प्रहरीले पुजिमोन्टलाई डेनमार्कको सिमानजिक उत्तरी राज्य श्लिस्वी होजटाइनमा हाइवे पेट्रोलमा हिरासतमा लिइएको जानकारी दिए।

क्याटालोनियामा तनाव चरम सीमामा पुगेको छ। शुक्रबार राष्ट्रपति पदका लागि नयाँ उम्मेदवार जोर्डी टुरुलियालाई पक्राउ गरेपछि पृथक्तावादी नेताहरूको योजनामा धक्का पुगेको छ।

स्पेनको सर्वोच्च अदालतले दिएको एक फैसलामा क्याटालोनियाका २५ नेता विरुद्ध विद्रोह, राज्यको अवहेलनाको मामिलामा मुद्दा चल्नुपर्ने उल्लेख छ। यसबीच शुक्रबार राति नै बार्सिलोनामा प्रदर्शनकारीको भिड र प्रहरीबीच झडप भएको थियो।

यस आदेशलाई क्याटालोनियाको स्वतन्त्रता आन्दोलन विरुद्ध एउटा अत्यन्त गम्भिर चुनौती मानिएको छ। यसले करिब सम्पूर्ण नेतृत्वले नै ठूलो कानुनी लडाइँ लड्नुपर्ने हुन्छ।
गत वर्ष जनमत संग्रहपछि स्पेनको केन्द्रीय सरकारले क्याटालोनिया सरकारलाई बर्खास्त गर्दै केन्द्रको प्रत्यक्ष शासन चलाएको थियो। त्यसपछि २ पटक चुनाव भए तर त्यसमा पनि कम बहुमतले स्वतन्त्रता समर्थक पार्टीहरूले जिते।