शपिङ सेन्टरमा आगलागी, ३७ को मृत्यु ६७ भन्दा बढी बेपत्ता

0
Shares

एजेन्सी। रुसको केमोरोव शहरमा एक शपिङ सेन्टरमा आइतबार भयानक आगलागी हुँदा ३७ जनाको मृत्यु भएको छ । रुसको मिडियाले स्थानीय प्रहरीको हवाला दिँदै ६७ जना भन्दा बढी बेपत्ता भएको जनाएको छ । यीमध्ये ४० भन्दा बढी बालबालिका छन् ।

स्पुतनिक न्यूजका अनुसार आगो सबैभन्दा पहिले बिल्डिङको चौथो तलामा लागेको थियो । सामाजिक संजालमा यो घटनासँग सम्बन्धित एक भिडियो पनि पोष्ट गरिएको छ । यो भिडियोमा कैयौं मानिस ज्यान बचाउनको लागि झ्यालबाट हाम्फाल्दै गरेको देखिएको छ ।

स्थानीय मिडियाका अनुसार आगो सबैभन्दा पहिले लागेको ठाउँमा मनोरञ्जन कम्प्लेक्स र सिनेमाघर थिए । यो भागमा कैयौं बालबालिका फसेको हुन सक्ने अनुमान गरिएको छ । प्रत्यक्षदर्शीका अनुसार शपिङ मलमा सानो चिडियाखाना पनि थियो ।  यहाँ बाख्रा, गिनिपिग, बिरालो, कुकुरसमेत कैयौं जनावर थिए । आगलागीको कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन । यो सहर राजधानी मस्कोदेखि ३६०० किलोमिटर टाढा छ ।