जर्मन प्रहरीद्वारा पूर्व क्याटलोनियाका लोकप्रिय नेता पक्राउ

0
Shares

 

बर्लिन, जर्मनी । जर्मनीको प्रहरीले पूर्व क्याटलोनियाली राष्ट्रपति चाल्र्स पुज्डमोनलाई आइतबार डेनमार्कबाट जर्मनी प्रवेश गर्ने क्रममा पक्राउ गरेको छ ।

पुज्डमोनलाई स्थानीय समय अनुसार विहान ११ः१९ बज स्केलस्वीग–होलस्टेन राजमार्ग प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको छ, जर्मन प्रहरीका प्रवक्ताले एएफ्पीलाई बताउनुभयो । उहाँलाई यूरोपेली पक्राउ पूर्जीका आधारमा जेलमा राखिने छ ।

“पूर्व स्पेनी नेता अहिले प्रहरी हिरासतमा हुनुहुन्छ,” प्रहरी प्रवक्ताले भने ।

पुज्डमोनको दलका प्रवक्ता आन्ना ग्राबालोसाले पनि आफ्ना नेताको डेनमार्कबाट जर्मनी जाने क्रममा जर्मनीको एक राजमार्गबाट पक्राउ गरिएको पुष्टि गर्नुभएको छ ।

ग्रावालोसाले भन्नुभयो, “नेता पुज्डमोनलाई हिरासतमा सकुशल राखिएको छ । अहिले मैले यतिमात्र भन्न सक्छु ।”
स्पेनको क्याटलोनियालाई स्वतन्त्र राज्य बनाउने अभियानमा लागेका पुज्डमोनमाथि स्पेनको केन्द्र सरकारद्वारा ‘राज्यद्रोह’ गरेको आरोपमा पक्राउ पूर्जी जारी गर्दै खोजीको सूचिमा राखिएको थियो ।

उहाँ गत बिहीबारदेखि फिनल्याण्ड भ्रमणमा हुनुहुन्थ्यो । तर फिनल्याण्डको प्रहरीले पक्राउ गर्न नपाउँदै जर्मनीतर्फ जानुभएको थियो ।

पुज्डमोनका वकील जाउमे अलान्सो–केभिलसले जर्मनी हँुदै बेल्जियम फर्किने क्रममा पूर्व क्याटलोनियाली नेतालाई जर्मन प्रहरीले पक्राउ गरेको बताउनुभयो । उहाँ क्याटलोनियामा केन्द्र सरकारको प्रत्यक्ष शासन शुरु हुनु अगावै बेल्जियम पुगी स्वघोषित निर्वासनमा रहँदै आउनुभएको छ ।