प्रायः हरेक दिनजसो बलात्कारका घटना सार्वजनिक भइरहेका छन्। कतै सामूहिक बलात्कार, सात दिनसम्म बन्धक बनाएर बलात्कार, नाबालिका, आमा र दिदीबहिनी उमेर समूहकामाथि त्यस्तो व्यवहार। सुन्दै आङ सिरिंग हुने घटना सार्वजनिक हुन थालेका छन्।
त्यस्ता घटनाको विरोधमा फेसबुक, ट्वीटर र अन्य सामाजिक सञ्जालका भित्ता राम्रैसँग भरिएका हुन्छन्। यस्तो कारबाही गर्नुपर्यो, उसो गर्नुपर्यो भन्ने सुझाव दिनेहरू एकसे एक देखिन्छन्। सरकार र अन्य सरोकारवाला निकायमाथि निकै व्यंग्य वाण पनि प्रहार भइरहेको देखिन्छ। तर त्यस्तो आवाज र विरोध सडक र अन्य सार्वजनिक निकायमा गर्नचाहिँ किन कन्जुस्याईं? धरहरा प्रश्न गर्न चाहन्छ।
बलात्कारको आरोपमा पक्राउ परेका, आरोप प्रमाणित भएकाहरू सहजै सामान्य धरौटीमा रिहा हुने गरेको देख्दा धेरैलाई टुप्पीबाट धुवाँ छुट्छ। आरोपीलाई शक्ति केन्द्रको साथ र समर्थन रहने भए पनि कसको के नै लाग्छ र? त्यसैले सामाजिक सञ्जालमा पोखिने आक्रोश र सुझाव सडक र सम्बन्धित निकायका ढोकामा छताछुल्ल हुनुपर्यो अब।
अनि सरकार, भएका÷बनेका कानुन कडाइका साथ कार्यान्वयन गर्न किन कन्जुस्याईं? कि आफ्ना नजिकका नातेदार घटनाका पीडित बन्दा मात्रै कानुनको याद आउने हो? अब त कानुनले मात्रै नपुग्ने भयो। बच्चाहरूलाई सानैमा रोगप्रतिरोधी खोप लगाएजस्तै युवा र वयस्कलाई पनि यौन उत्तेजना नहुने यौनप्रतिरोधी खोपको व्यवस्था गर्न सरकारलाई सुझाव दिन्छ धरहरा।
प्रतिक्रिया