ईश्वरमान डंगोल
वडा अध्यक्ष, कामपा–१५
विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भुको काखमा रहेको डल्लु र आसपासको क्षेत्र काठमाडौं महानगरपालिकाको १५ वडाभित्र समेटिएको छ। उपत्यकाको पहिलो आवास क्षेत्र भनिए पनि त्योअनुसारको परिवर्तन खासै देखिँदैन। खानेपानी र फोहोरमैलाको समस्या यो वडाको पुरानो पहिचान बनेको छ। यही सन्दर्भमा नेपाल समाचारपत्रले १५ वडाका वडा अध्यक्ष ईश्वरमान ढंगोलसँग वडाका समस्या र समाधानमा भइरहेका प्रयासबारेमा गरेको कुराकानी।
तपाईं विगतमा पनि यही वडाको वडा अध्यक्ष हुनुहुन्थ्यो, पहिले र अहिलेको वडाका समस्यामा के–कस्तो समानता र भिन्नता पाउनुभएको छ ?
हिजोको दिनमा चाहिँ जनताका आवश्यकता कम थिए, अहिले आवश्यकता बढेको देखिन्छ। समस्या थपिएका छन्, अहिले सम्बोधन गर्नुपर्ने विषय धेरै छन्। धेरै वर्षसम्म स्थानीय निकायमा जनप्रतिनिधि नहुँदा जनताका इच्छा चाहना पूरा हुन सकेका थिएनन्, धेरै कुरा अधुरा थिए। अहिले विगतमा रोकिएका धेरै अधुरा कुरा पूरा गर्नुपर्ने अवस्था छ।
तपाईंको कार्यकालका प्राथमिकता के हुन् ?
भूकम्पले क्षति पुर्याएको विश्व सम्पदा सूचीमा रहेको स्वयम्भुका सम्पदाको पुनर्निर्माण, अन्य सार्वजनिकस्थल र निजी घर पुनर्निर्माणका लागि प्राथमिकतामा राखेको छु। स्वयम्भुमा पुनर्निर्माण हुने सम्पदा विश्व सम्पदा सूचीको डिजाइनअनुसार नै काम अघि बढाइनेछ। भ्रष्टाचारमुक्त वडा बनाउनु मेरो प्राथमिकता हो, हामी त्यो अभियानमा लागिरहेका छौं भ्रष्टाचारमुक्त वडा घोषणा भइसकेको छ, त्यहीअनुसारको कार्यक्रम पनि भइरहेको छ।
वडा कार्यालयभित्र ‘हेल्पडेक्स’ स्थापना गरिएको छ। जो कोही सेवाग्राहीले हेल्पडेक्सबाट निःशुल्क सेवा लिन सक्छन्। निवेदन लेख्न नसक्नेहरूलाई पनि डेक्सले सहयोग गर्छ, अन्य आवश्यकताका काममा पनि डेक्सले सघाउँछ। सघाउन स्वयंसेवकको व्यवस्था गरिएको छ। यससँगै स्वतःस्फूर्तरूपमा जनतालाई कर तिर्ने वातावरण बनाइनेछ। कर कसरी तिर्ने भन्नेको ज्ञान र सचेतनामूलक कार्यक्रम पनि सञ्चालन हुनेछ। वडा कार्यालयमा आउन नसक्ने सेवाग्राहीलाई घरमा पुगेर सेवा प्रदान गर्न सकिन्छ। वडा सदस्य र म आफैं कुनै न कुनैरूपमा घर–घरमा पुग्न सक्छौं। यसको मूल उद्देश्य भनेको वडालाई पूर्णरूपमा भ्रष्टाचारमुक्त बनाउनु नै हो।
खुला र सार्वजनिक क्षेत्रमा बोट–विरुवा रोपेर हरियाली बढाइनेछ। फोहोर मैला व्यवस्थित ढंगले व्यवस्थापनका लागि निश्चित शुल्क निर्धारण गर्नुपर्छ यसमा छलफल भइरहेको छ। फोहोर मैला व्यवस्थापन गर्न केन्द्रले अघि सार्ने नीति छुट्टै होला तर वडाले पनि छुट्टै नीति बनाउनेछ। जेष्ठ नागरिकलाई लक्षित गरेर सामुदायिक भवनमा डे केयरको व्यवस्था शुरू गरिसकेका छौं। विगत एक महिनादेखि सञ्चालनमा आएको ‘सेभेन्टी क्लब’ मा ७० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई समय बताउन, निःशुल्करूपमा चिया, खाजा र मालिस गर्ने व्यवस्था गरिएको छ। वडाका सार्वजनिकस्थललाई व्यवस्थित गर्ने, हरियाली बढाउने सुगर र प्रेसर रोगका समस्या भएकाहरूले खाली खुट्टा हिँडडुल गर्न मिल्ने अकुप्रेसर पार्क बनाउने छौं।
खानेपानी समस्या समाधान गर्न के भइरहेको छ ?
खानेपानीको समस्या समाधान गर्न आकाशेपानी संकलन र जमिनमुनिको पानीको सतह बढाउन ‘रिचार्ज’ को अभ्यासलाई यो वडाले जोड दिएको छ। वडा कार्यालयभित्र आकाशेपानी संकलन र प्रयोगको अभ्यास अनुभूत गर्न सकिन्छ। घर नक्सापास गर्दा नै आकाशेपानी संकलन र रिचार्जलाई अनिवार्य गरिएको छ। नक्सामा यस्तो कुरा प्रस्टरूपमा खुलाउनुपर्छ। आकाशेपानी संकलन र रिचार्ज अनिवार्य गरियो भने जमिनमुनिको पानीको सतह बढाउन सहयोग मिल्नेछ। तर, दीर्घकालीन समाधानका लागि मेलम्ची जस्ता परियोजना आवश्यक हुन्छ।
यही वडाभित्रको स्वयम्भु महत्त्वपूर्ण पर्यटकीयस्थल पनि हो। तर, पर्यटकले शौचालय र अन्य आधारभूत सुविधाबाट वञ्चित रहनुपर्ने अवस्था पनि छ, हैन ?
पक्कै पनि पर्यटकका लागि स्वयम्भूमा समस्या छ। शौचालय, आराम गर्ने क्षेत्रको समस्यासँगै पर्यटकलाई जबरजस्ती सामान बेच्न हिँड्नेहरू छन्। त्यसैले हामीले त्यहाँ पर्यटक आराम गर्न सक्ने छुट्टै क्षेत्र र सुविधा सम्पन्न शौचालय निर्माणको कुरा अघि बढाइरहेका छौं। कार्ड सिस्टमसहितको आधुनिक ई–ट्वाइलेट बनाउने योजना अघि बढाइएको छ। पूर्णरूपमा स्टिल प्रयोग हुने र स्वचालितरूपमा सफा गर्न सकिने भएकाले त्यस्तो शौचालय बनाउने तयारी गरिएको हो। त्यसै गरी पर्यटकलाई लक्षित गरेर चिया, खाजा र कफी सप बनाउनुपर्छ भनेर छलफल भइरहेको छ।
यससँगै हामीले अर्को महत्त्वपूर्ण काम पनि अघि बढाउन खोजेका छौं। विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भु र हनुमानढोका क्षेत्रलाई जोड्न विशेष योजना अघि ल्याउने तयारी हुँदै छ। स्वयम्भु आउने पर्यटक हनुमानढोका र हनुमानढोका पुग्ने पर्यटक स्वयम्भु पुग्ने⁄पुर्याउने वातावरण बनाउन छलफल गरेका छौं। यो योजनालाई प्रभावकारी बनाउन आसपासका विभिन्न वडाका वडा अध्यक्षहरूसँग पनि छलफल गरिरहेका छौं। यो अवधारणा हाम्रो सांसद जीवनराम श्रेष्ठले अघि सार्नुभएको हो, यसका लागि महानगरपालिकाका मेयरको संयोजकत्वमा एउटा टिम बनेको छ। त्यो टिममा १५, १८, १९, २०, २३ वडाका वडा अध्यक्ष रहनेछौं। सम्भवतः आगामी वैशाख ४ गते यसबारेको बृहत् कार्यक्रम पनि हुनेछ।
डल्लु र आसपासका क्षेत्रमा बेला–बेला बाँदर आतंक बढेको गुनासो पनि सुनिन्छ। यो समस्यालाई वडाले कसरी लिएको छ ?
स्वयम्भुनजिकै भएकाले आसपासका बस्तीमा बाँदर आतंक बढेको छ। समस्या छ। वडा कार्यालयले यो समस्यालाई गम्भीरतापूर्वक लिएको छ। तर, वडा आफैंले यो विषय समाधान गर्न पनि सक्दैन। बाँदरको परिवार नियोजन गर्ने कुरा पनि हुन सक्छन्। त्यसैले यस विषयका विज्ञहरूसँगको छलफल र सुझाव लिएर छिट्टै समाधानको विकल्प खोज्ने छौं।
डल्लु क्षेत्र मुलुककै पहिलो व्यवस्थित आवास क्षेत्र पनि भनिन्छ। तर, त्योअनुसारको प्रत्याभूति हुन सकेको छैन नि ?
‘ल्यान्ड पुलिङ’ गरेर व्यवस्थित बस्ती तयार गर्ने अवधारणाअनुसार तत्कालीन सरकारले २०३३ सालमा आवासको नीति ल्याएको थियो। त्यो बेला काठमाडौंको डल्लु, कुलेश्वर र गल्फुटारलाई अधिग्रहण गरिएको थियो। २०४६ पछि यो क्षेत्रमा एकीकृत ‘ल्यान्ड पुलिङ’ विकास गरियो। ४० प्रतिशत जग्गा बाटो र अन्य पूर्वाधारका लागि निःशुल्क छोड्यौं, बाँकी ६० प्रतिशत मात्रै हामी स्थानीयले लिएका थियौं। यस्तो स्वाभलम्वी योजना सायद काठमाडौं उपत्यकाभित्रको पहिलो सफल आयोजना हो। यस आयोजनाबाट जति सुविधा हामीले खोजेका थियौं, त्योअनुसार पूर्वाधार विकास भएको छैन।
आवासलाई व्यवस्थित गर्न वडाले कुनै योजना अघि सारेको छ ?
केही योजना अघि सारेका छौं, केही तयार पनि भएका छन्। जस्तै सुगर र प्रेसर रोगीका लागि ‘अकुप्रेसर पार्क’ निर्माण गरिसकेका छौं। त्यस्तो पार्क आवासको कुमारी स्थानमा तयार भइसकेको छ। आवास क्षेत्रभित्र खानेपानीको समस्या नहुने गरी खानेपानीको बोरिङ पनि निर्माण भइसकेको छ। मेलम्ची आए पनि नआए पनि ३ सय ४६ रोपनीभित्रको आवास क्षेत्रमा अब खानेपानीको समस्या हुँदैन। फोहोर मैला व्यवस्थित गर्न ‘डुवर टु डुवर’ फोहोर मैला संकलन गर्ने र कम्पोस्टिङ गर्ने योजना छ। आवास क्षेत्रलाई लक्षित गरेर सामुदायिक भवन बनाउने र अन्तर्राष्ट्रियस्तरको ब्याटमिन्टन हल बनाउने पहल भइरहेको छ।
बाक्लो बस्ती रहेको यो वडाभित्र नेपाली सेनाले पनि ठूलो क्षेत्र ओगटेर विभिन्न किसिमको अभ्यास पनि गरिरहेको हुन्छ। मानवबस्ती बीचमा सेना रहनु कति उपयुक्त हुन्छ ?
विगतमा स्थानीय बासिन्दा र सेना बीच एक किसिमको समस्या थियो, विवाद देखिन्थ्यो। सेना र स्थानीय बीच एक किसिमको ग्याप पनि थियो, खाडल जस्तो थियो। १५ वडा भनेको सेनाले घेरिएको वडा हो भन्दा पनि फरक पर्दैन। नजिकै सैनिक आवास छ, बारुदखाना, सैनिक अस्पताल छ, जंगल पनि छ। त्यसैले हामीले सेनासँग सम्बन्ध राम्रो होस् भनेर छलफल पनि गरिरहेका हुन्छौं। सरसफाइ र वडाको काममा सेना पनि जुटिरहेको हुन्छ, भूकम्पपछिको उद्धारमा सेनाको सहयोगले गर्दा धन–जनको ठूलो क्षति हुन पाएन। तर, अब त यो क्षेत्र पनि बाक्लो बस्ती र शहर भइसकेको हुनाले मध्य शहरभित्र सेना रहनु उपयुक्त हुन्छ कि हुँदैन भनेर निर्णय लिने भनेको राज्यले हो।
प्रतिक्रिया