सभामुख–ईयू निर्वाचन पर्यवेक्षण मिसन टोली भेटवार्ता

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
सभामुख कृष्णबहादुर महरासँग युरोपियन युनियन निर्वाचन पर्यवेक्षण मिसन टोलीले भेटवार्ता गरेको छ। सोमबार सभामुखको कार्यालय सिंहदरबारमा ईयू निर्वाचन पर्यवेक्षण मिसन प्रमुख तथा युरोपियन पार्लियामेन्टका सदस्य जेलजना जोभ्को नेतृत्वको टोलीले भेटवार्ता गरेको हो।

भेटमा टोलीले सभामुख महरालाई गत मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रतिवेदन बुझाएको थियो। सो अवसरमा सभामुख महराले प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनलाई पर्यवेक्षण गरी सहयोग गरेकोमा ईयू निर्वाचन पर्यवेक्षण मिसन टोलीलाई धन्यवाद ज्ञापन गर्नुभयो।

जस्तोसुकै परिस्थितिमा पनि नेपालले निर्वाचनलाई स्वच्छ र मर्यादितरूपमा सम्पन्न गरेर नयाँ संविधान बनाउन सफल रहेको भन्दै उहाँले पछिल्लो चुनावले नयाँ संविधान कार्यान्वयनको यात्रा अघि बढाएको बताउनुभयो।

सो अवसरमा बोल्दै निर्वाचन पर्यवेक्षण मिसनका प्रमुख जेलजना जोभ्कोले सफलतापूर्वक निर्वाचन सम्पन्न भएकोमा आफूलाई खुसी लागेको बताउनुभयो। उहाँले निर्वाचनको समग्र अनुगमन गरी २९ बुँदे सुझाव पनि पेस गर्नुभयो। उहाँले नेपालले इलेक्ट्रिकल भोटिङ सिस्टमको शुरूआत गर्नुपर्नेमा जोड दिनुभयो।