“देश बनाउन सबै अगाडि बढौं”

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान मातातीर्थको शीला अनावरण गरी उद्घाटन गर्नुभयो। त्यस अवसरमा उहाँले सो कार्यालय परिसरको अवलोकनसमेत गर्नुभयो।
प्रम ओलीले सोही अवसरमा सो प्रशिक्षण प्रतिष्ठानको भौतिक संरचनाहरू निर्माणमा अनुकरणीय भूमिका निर्वाह गर्ने चाइना रेलवे चौधौं ब्युरो ग्रुप कर्पोरेसन लिमिटेडका जेनेरल म्यानेजर ज्याङ जिन जुङलाई प्रशंसापत्र प्रदान गर्नुभयो। उहाँले सशस्त्र प्रहरी बल नेपालले गरेको कार्यको प्रशंसा गर्दै सशस्त्र प्रहरीले आफ्नो ठाउँबाट जनता र देशका लागि सर्वोत्तम काम गर्न सक्ने चर्चासमेत गर्नुभयो।

म सेवक हुँ भन्ने भावना राखेर कर्तव्य निर्वाह गर्नुपर्ने उल्लेख गर्दै प्रम ओलीले सशस्त्र प्रहरी बलले विपद्को बेला ज्यानको पर्वाह नगरी उद्धार कार्यमा देखाएको सक्रियताको चर्चा गर्नुभयो। उहाँले सबै सुरक्षा निकायले परोपकारी भएर कार्य गरेको स्मरण पनि गर्नुभयो। साथै सेवाभाव र कर्तव्य परायणताको उत्कृष्ट भावना प्रदर्शन गरी सुरक्षाकर्मीले राष्ट्रका लागि विशिष्ट योगदान पुर्याएको उल्लेख गर्नुभयो।

देशमा आज कुनै मतभेद नभएको तथा देश बनाउन सबै अगाडि बढेको बताउनुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘हाम्रो एकताबद्ध प्रयासले पछाडि नहेरी अगाडि के चाहिएको छ, त्यो पाउन अगाडि बढ्ने हो।ु गृहमन्त्री रामबहादुर थापा ‘बादलु ले भवन परिसरको अधिकतम उपयोग गरी विज्ञ उत्पादनमा उक्त प्रशिक्षण प्रतिष्ठान सफल हुने विश्वास व्यक्त गर्नुभयो।

वृत्ति विकासलाई वैज्ञानिक एवं पारदर्शी बनाउन गृह मन्त्रालयले काम–कारबाही गरिरहेको उल्लेख गर्दै नवनिर्मित यस प्रशिक्षण प्रतिष्ठानबाट सशस्त्र प्रहरीलाई मात्र नभई अन्य स्वदेशी तथा विदेशीलाई पनि तालिम गराउन गृह मन्त्रालयले रचनात्मक भूमिका निर्वाह गर्ने बताउनुभयो।
चीनका राजदूत यू होङले उक्त प्रशिक्षण प्रतिष्ठानको निर्माण कार्य महत्त्वपूर्ण प्रोजेक्ट रहेको बताउनुभयो। उहाँले निर्धारित समयअगावै सो प्रतिष्ठानको निर्माण कार्य सम्पन्न भएको कुरासमेत उल्लेख गर्नुभयो।
सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले धन्यवाद ज्ञापनको क्रममा सो प्रतिष्ठान निर्माणलाई महत्त्वका साथ समयमा नै आवश्यक प्रक्रिया अगाडि बढाउन सहयोग गर्नुहुने सम्बन्धित मन्त्रालय तथा सशस्त्र प्रहरी बल नेपालका तत्कालीन नेतृत्व वर्गप्रति कृतज्ञता ज्ञापन गर्नुभयो।

सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले सीमा सुरक्षा, विपद् व्यवस्थापन, औद्योगिक सुरक्षा, सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणलगायतका विविध कार्यमा मानव संसाधन विकासको दिशामा सो प्रतिष्ठानको निर्माण एवं सञ्चालनले महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। उक्त प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले स्वागत मन्तव्यको क्रममा मित्रराष्ट्र चीन सरकारबाट ३ अर्ब ६० करोडको लागतमा निर्माण सम्पन्न भएको बताउनुभयो। उक्त राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान, नेपाल सरकारको २०६४ साल असोज ३० गतेको निर्णयले स्थापना भएको हो।

कार्यक्रममा नेपाल सरकारका पूर्वमन्त्रीहरू, गृहसचिव मोहनकृष्ण सापकोटा, पूर्वसशस्त्र प्रहरी महानिरीक्षहरू, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका उच्च अधिकृतहरू एवं विभिन्न निकायका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।