तीनवटै राप्रपालाई मिलाउने प्रयास: “चिया बगानमा कफी पाइन्छ त ?”

0
Shares

ईश्वरराज ढकाल, काठमाडौं ।
संसदीय निर्वाचनपछि लजास्पद हार बेहोरेका कमल थापा नेतृत्वको राप्रपा नेपाल, पशुपतिशमशेर नेतृत्वको राप्रपा र डा. प्रकाशचन्द्र लोहनीनिकट राप्रपा राष्ट्रवादीका नेतासँगको भेटमा पूर्वराजा ज्ञानेन्द्रले प्रश्न सोध्दै घुमाउरो शैलीमा भन्नुभयो– ‘तपाईंहरूले पार्टीलाई यसै गरी अघि बढाउने सोच भए मेरो विकल्प अरू पनि हुन सक्छ।’ आइतबार दिउँसो पूर्वराजालाई भेट गर्न गएका नौ जना नेतासँग झापामा उहाँले भन्नुभयो– ‘अब पार्टीलाई एक बनाउने बेला आएको छ। यसका निम्ति गृहकार्य गर्नुस्।’

दिउँसो ४ देखि ७ बजेसम्मको भेटमा पूर्वराजाले पालैपालो सबै नेताको धारणा सुन्नुभएको थियो। अकस्मात् बोलाएपछि झापास्थित पूर्वराजाको स्वामित्वमा रहेको हिमालयन टी गार्डेनमा पुगेका नेताहरूले अहिलेका नेताको विकल्प सोच्नुपर्ने बताएका थिए। राप्रपाका नेता सुरेश आचार्य, राजाराम श्रेष्ठ र सगुन लावती, राप्रपा नेपालका बुद्धिमान तामाङ, भाष्कर भद्रा र प्रह्लाद शाह र तथा राप्रपा राष्ट्रवादी पार्टीका तर्फबाट केशव श्रेष्ठ, तारा लुइँटेल र डा. सुष्मा आचार्यले भेट गर्नुभएको थियो। आफ्नो निवाससँगै रहेको चियाबगानमा ओच्छइइएको कार्पेटमा बसेर सबै नेताले मुलुकको पछिल्लो अवस्था र आफ्नो पार्टीको हारको विषयमा बेलिविस्तार सुनाएका थिए।

सबैको कुरा एकोहोरो कुरा सुनिरहनुभएका ज्ञानेन्द्रले कसैलाई क्रस गरेर प्रश्न गर्नुभएन, सुनी मात्र रहनुभयो। नौ जनामध्ये सिनियर एवम् राप्रपा नेपालका नेता तामाङले पहिलो धारणा राख्नुभएको थियो। त्यसपछि सबै नेताले आ–आफ्नो धारणा राखेका थिए। अन्तिममा नेता आचार्यले बोल्नुभएको थियो। तीनै पार्टीका नेताले तीन अध्यक्षको व्यक्तिगत इगोका कारण पार्टीले यस्तो अवस्था भोग्नुपरेको दुःखेसो पोखेका थिए। यिनीहरूकै नेतृत्वमा पार्टी अघि बढ्ला भन्ने कुरामा आफूहरूलाई विश्वास नभएकाले विवेक प्रयोग गरेर नयाँ पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्नुपर्ने धारणा सबै नेताको थियो।

तीन दलका नेताले तामाङलाई अघि सारेर नयाँ ढंगले पार्टी सञ्चालन गर्नुपर्ने आशय व्यक्त गरेका थिए। पटकपटक पार्टी विभाजन हँुदा समन्वयकारी भूमिका खेलेका तामाङले नयाँ ढंगबाट पार्टीलाई अघि बढाउन सक्ने आशय उपस्थित प्रायः सबै नेताले राखेका देखिन्थ्यो।

सबैको कुरो सुनेर डेढ घण्टापछि पूर्वराजाले चिया र बिस्कुट खान उपस्थित नेताहरूलाई इसारा गर्नुभएको थियो। त्यतिकैमा एक जनाले खुसुक्क कुराकानी गर्दै थिए– ‘ए चिया पो? यहाँ कफी छैन कि क्या हो?’ सानो स्वरमा बोले पनि चनाखो भएर सुनिरहेका ज्ञानेन्द्रले मुसुक्क हाँसेर प्रतिउत्तर दिनुभयो– ‘चियाबगानमा कफी पाइन्छ र?’ राप्रपाको पछिल्लो अवस्थालाई संकेत गर्दै पूर्वराजाले पार्टीभित्र देखिएका समस्या आफूबाट समाधान नहुने व्यंग्य गर्नुभएको थियो। निजी सचिव सागर तिमल्सिनाका साथ कुरा सुन्न बस्नुभएका ज्ञानेन्द्रले तिमल्सिनालाई देखाउँदै भन्नुभयो– ‘तपाईंहरूले बोलेका कुराहरू सचिवले नोट गरेको छ।’

आफूले गरेको कुरालाई अगाडि बढाउनुस् भन्दै नेताहरूका कुरालाई आफूले गम्भीरताका साथ लिएको आभाष दिलाउन खोज्नुभएको थियो।
अन्तिममा सबै नेताको कुरा सुनेर आफ्नो धारणा राख्नुभएका ज्ञानेन्द्रले उपस्थित सबै नेतालाई धन्यवाद दिँदै आफूलाई राखेको जस्तै निष्पक्ष र निःस्वार्थ रूपमा आफ्ना कुरा राख्न नेताहरूलाई सुझाव दिएर अघि बढ्दा बेस हुने धारणा राख्नुभएको थियो। फागुन २० गते झापा पुग्नुभएका पूर्वराजा यो महिनाको अन्तिम सातासम्म झापा रहनुहुनेछ।

झापाबाट उहाँले पूर्वाञ्चलका विभिन्न धार्मिक क्षेत्रको भ्रमण गर्ने कार्यक्रम रहेको छ। ११ गते विराटनगर र त्यसपछि विभिन्न स्थानको भ्रमण कार्यक्रम तय गरिएको छ। ज्ञानेन्द्रका साथमा भरतकेशरी सिंह, शान्तकुमार मल्ललगायतका आफन्त झापा पुग्नुभएको छ। झापा रहँदा उहाँले पूर्वाञ्चलका सिनेट श्रेष्ठ, बद्री मण्डललगायत अधिकांश राजावादीसँग भेट गरिसक्नुभएको छ। राजनीतिमा सक्रिय हुने तयारीमा लाग्नुभएका ज्ञानेन्द्रले सम्पूर्ण राष्ट्रवादी र राजावादी शक्तिलाई एकजुट बनाएर लैजाने गृहकार्य गरिरहनुभएको छ।

शक्तिपीठ दर्शनका लागि पूर्वराजा ज्ञानेन्द्र शाह विराटनगर आउनुहुने भएको छ। पूर्वराजा शाह आगामी आइतबार रामनवमीको अवसर पारी विराटनगर आउने पक्का भएको नेपाल विद्वत् परिषद्का अध्यक्ष बल्लभ दाहालले जानकारी दिनुभयो। यसैबीच विराटनगरमा सोमबार पत्रकार सम्मलेन गर्दै पूर्वराजा शाह विराटनगरको काली मन्दिर तथा रामजानकी मन्दिरमा दर्शनका लागि आउन लागेको अध्यक्ष दाहालले बताउनुभयो। उहाँले पूर्वराजाको स्वागतका लागि २ सय २७ सदस्यसहितको समितिसमेत गठन भइसकेको जानकारी दिनुभयो। केही सातादेखि झापाको दमकस्थित उहाँकै स्वामित्वमा रहेको हिमालय चिया बगानमा बसिरहनुभएका पूर्वराजा शाहले राप्रपाका विभिन्न गुटका नेतासँग भेटवार्ता गर्दै आउनुभएको छ।

यसअघि अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा मध्यपश्चिमको नेपालगन्जस्थित होटल सोल्टी उद्घाटन गर्न पुग्नुभएका ज्ञानेन्द्रले पुस १७ गते होटल उद्घाटन गरेसँगै सुदूरपश्चिमको समेत भ्रमण गर्नुभएको थियो। मध्यपश्चिमको भ्रमणका बेला उहाँसँग डोल्पा, हुम्ला र जुम्लाका राजावादीले भेट गरेका थिए। नेपालगन्जबाटै उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको निमन्त्रणमा परिवारसहित उत्तर प्रदेशको राजधानी लखनउ भ्रमण गर्नुभएको थियो।

राजतन्त्र र हिन्दू राज्यको समर्थक मुख्यमन्त्री आदित्यनाथसँग भएको भेटमा नेपालमा हिन्दू धर्म र राजतन्त्र ल्याउने विषयमा कुराकानी भएको थियो। त्यसपछि पूर्वराजाको सक्रियता बढ्न थालेको छ। ज्ञानेन्द्र माघ २२ गते भारतको उडिसा जानुभएको थियो। उडिसा राज्यको गोवद्र्धनमा पुरी पीठका १ सय ४५औं जगत्गुरु शंकराचार्यको पट्टाभिषेक समारोहमा सहभागी भएर नेपाल फर्कनुभएको थियो।