नेपालको उच्च शिक्षाको वर्तमान अवस्था

0
Shares

नेपाल सरकारले अवलम्बन गरेको वहु–विश्वविद्यालयको अवधारणाबमोजिम हाल नेपालमा ११ वटा विश्वविद्यालयहरू (त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, सुदूर पश्चिमाञ्चल विश्वविद्यालय, मध्य पश्चिमाञ्चल विश्वविद्यालय, नेपाल खुला विश्वविद्यालय, राजर्षी जनक विश्वविद्यालय) र ४ वटा मानित विश्वविद्यालय सरहका प्रतिष्ठानहरू (वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान, राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान) सञ्चालनमा रहेका छन्। हालै मात्र नेपाल सरकारले ऐनमार्फत राजर्षी जनक विश्वविद्यालय स्थापना गरेको छ। यस विश्वविद्यालयमा पदाधीकारी नियुक्त तथा शैक्षिक कार्यक्रम शुरु भइसकेका छैनन्। गत वर्ष स्थापना गरेको नेपाल खुला विश्वविद्यालयले यसै आर्थिक वर्षबाट शैक्षिक कार्यक्रमहरू विधिवत रूपमा सञ्चालन गर्ने तयारी गरिरहेको छ।

गत वर्ष मुलुकमा विद्यार्थी संख्या जम्मा ३ लाख ६१ हजार ७७ रहेकोमा यो संख्या सबैभन्दा बढी विद्यार्थी त्रिविमा अध्ययनरत रहेका छन् भने कम लुम्बिनी बौद्ध विश्वविद्यालयमा रहेका छन्। त्रिविमा मात्र २ लाख ८४ हजार ४ सय ५३ थिए भने काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, सुदूर पश्चिमाञ्चल विश्वविद्यालय, मध्य पश्चिमाञ्चल, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्रमशः १६ हजार ६ सय ५८, २३ हजार ५ सय ३९, १हजार ४ सय ७१, २६ हजार ३२, १ सय ९६, १ हजार ५ सय ८३, २ हजार २ सय ११, ३ हजार ४६, १ हजार ४ सय ४८, ९० र ३ सय ५० विद्यार्थी अध्ययनरत छन्।

क्याम्पसहरूको संख्यामा वृद्धि भई हाल विश्वविद्यालयका आंगिक क्याम्पसको संख्या ९८ पुगेको छ भने सम्बन्धन प्राप्त सामुदायिक क्याम्पसहरूको संख्या ५ सय ३२ र निजी क्याम्पसहरूको संख्या ७ सय ७७ गरी जम्मा क्याम्पसको संख्या १ हजार ४ सय ७ पुगेको छ। गत वर्षको क्याम्पसहरूको वृद्धि दर करिब २ दशमलब ७ प्रतिशत रहेको छ। स्नातक तहको मात्र पढाइ हुने उच्च शैक्षिक संस्थाहरू ८२ प्रतिशत छन् भने स्नाकोत्तर तहसम्मको पढाइ १८ प्रतिशत क्याम्पसमा हुने गरेको छ। विश्वविद्यालयले बिना नक्सांकन सम्बन्धन प्रक्रिया व्यवस्थित पार्न नसक्दा हाल प्रदेश ३ मा सबैभन्दा बढी ४३ दशमलब ५ प्रतिशत उच्च शैक्षिक संस्था रहेका छन् भने सबैभन्दा कम ४ प्रतिशत प्रदेश ६ मा रहेका छन्। निजी क्याम्पसहरूमा अध्ययनरत विद्यार्थीहरू करिब ३५.६ प्रतिशत छन् भने सामुदायिक र आंगिक क्याम्पसहरूमा क्रमशः ३० दशमलब ७ र ३३ दशमलब ७ प्रतिशत रहेका छन्। विगतका वर्षको तुलनामा निजी क्याम्पस र सामुदायिक क्याम्पसहरूमा विद्यार्थी संख्या क्रमश बढ्दो क्रममा रहेको देखिन्छ। तथापि सामुदायिक क्याम्पसहरूमा विद्यार्थीहरूको वितरणमा ठूलो असमानता रहेको पाइन्छ।

विषयगत रूपमा विद्यार्थी भर्ना सबभन्दा बढी व्यवस्थापन विषयमा रहेका छन् भने आयुर्वेद विषयमा कम रहेका छन्। व्यवस्थापनमा करिब ४२ दशमलब २, शिक्षा र मानविकीमा क्रमशः २४ दशमलब ८ र १० दशमलब ७ विद्यार्थी भर्ना दर रहेको छ। त्यसै गरी विज्ञान तथा प्रविधि, मेडिसिन, इन्जिनियरिङ मा क्रमश ९ दशमलब ९, ५ दशमलब ३ र ४दशमलब ७ प्रतिशत रहेको र अन्य विषय (संस्कृत, कृषि तथा वन, आर्युवेद, बुद्धिजम र कानुन आदि) मा करिब २ दशमलब ४ मात्र विद्यार्थी भर्ना रहेको छ।

आंगिक क्याम्पसमा संलग्न रहेका शिक्षकहरूको संख्या ९ हजार १ सय ४२ पुगेको छ। यस मध्ये ७ सय ३२ जना प्राध्यापक तहका, २ हजार ४ सय ३ सह प्राध्यापक, ३ हजार ६ सय ७८ उप प्राध्यापक, १ हजार ७ सय १२ शिक्षक सहायक र ४ सय ६१ इन्स्ट्रक्टर रहेका छन्। सामुदायिक र निजी क्याम्पस समेत जोड्ने हो भने करिब २० हजार शिक्षकहरू उच्च शिक्षामा आंशिक तथा पूर्णकालीन कार्यरत रहेका छन्। विगतका वर्षहरूको तुलनामा शिक्षकहरूको तहगत विवरण विश्लेषण गर्दा प्राध्यापक तथा सह–प्राध्यापक तहका शिक्षकहरूको संख्या ह्वात्तै बढेको देखिन्छ यसले गर्दा विश्वविद्यालयको संगठानात्मक संरचना (पिरामिड) विपरीत बिग्रने अवस्था रहेको छ।

चालु आव.२०७४⁄७५ मा नेपाल सरकारबाट ९ अरब ९१ करोड ७८ लाख १५ हजार प्राप्त हुनेछ भने नेपाल खुला विश्वविद्यालयको बजेट शिक्षा मन्त्रालयको बजेट तथा कार्यक्रममा परेको, नयाँ खुल्ने विश्वविद्यालयलगायत अन्य शीर्षकमा थप अनुदान प्राप्त हुने अपेक्षा गरिएको छ।

२०७२ वैशाख १२ को महाभूकम्प तथा त्यसपछिका पराकम्पनबाट क्षति भएका उच्च शिक्षा संस्थाका लागि गत आवमा ४९ करोड ५० लाख अनुदान प्राप्त भयो भने चालु आवमा १ अरब ३६ करोड प्राप्त हुने अपेक्षा गरिएको छ।