गर्भवतीको मृत्युपछि सगरमाथा अञ्चल अस्पतालमा तनाव, डाक्टर फरार



काठमाडौं । एक गर्भवतीको मृत्यु भएपछि सगरमाथा अञ्चल अस्पतालको वरीपरी पीडितका आफन्तहरुले विरोध पर्दशन गरेका छन् । उनीहरुले डाक्टरको लापरवाहीका कारणले यस्तो हुन पुगेको भन्दै विरोध जनाएका हुन् ।

राजविराज अस्पतालमा बिरामीको मृत्यु भएको पीडितका आफन्तले डाक्टरलाई गम्भिर आरोप लगाउँदै नाराजुलुस गरेपछि त्यहाँको अवस्था तनावग्रस्त बनेको छ । सुत्केरी व्यथाले च्यापेपछि जिल्लाको विष्णुपुर गाउँपालिका १ पिप्राहिकी २५ वर्षीया अनिता यादवलाई २ दिनअघि अस्पताल भर्ना गरिएको थियो ।

सुरुदेखि नै चेकजाँच गर्दै आएका डाक्टर दीलिप साहले नै अनितालाई अस्पताल भर्ना गर्न सल्लाह दिएका थिए । तर, व्यथा चर्किंदै गएपछि डाक्टरले वास्ता नगरेको मृतकका पति रमेश यादवले आरोप लगाएका छन् ।

अनितालाई बुधबार राति १० बजेदेखि नै दुखाइ बढेपछि आफूले पटकपटक फोन गर्दासमेत डाक्टरले फोन नउठाएको र
अस्पतालले पनि कुनै चासो नदेखाएका कारण आफ्नी पत्नी र बच्चा दुवैको मृत्यु भएको उनको भनाइ छ । बिरामीको मृत्यु भइसकेपछि राति २ बजे आइपुगेका डाक्टर साह त्यहाँबाट फरार रहेको पिडित परिवारले आरोप लगाएका छन् । मृतकका ४ वर्षीय छोरा आकाश र २ वर्षीया छोरी सरस्वती छन् ।

यसै घटनापछि राजविराज–भारदह सडक खण्डमा टायर बालेर यातायात अवरुद्ध पारिएको छ । गाउँबाट ट्याक्टर र टेम्पोमा राजविराज आएका स्थानीयले अस्पताल घेराउ गर्दै डा दीलिप साहको क्लिनिकमा लागेको बोर्डमा आगो लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्