सिरिया हिंसा तत्काल बन्द गर्न आग्रह



नेपाल समाचारपत्र, काठमाडौं । ईरानको राजधानी तेहरानमा शुरु भएको बिश्व ट्रेड युनियन महासंघ (डब्लुएफटीयु) केन्द्रीय कमिटी (प्रेसिडेन्सियल काउन्सिल) को बैठकमा काउन्सिल सदस्य प्रेमलकुमार खनालले सम्बोधन गर्नु भएको छ ।

आफ्नो सम्बोधनमा उहाँले आतंकबादको नियन्त्रणका नाममा अमेरिका सहित नाटो समर्थित देशहरुबाट सिरिया लगायतका मुलुकमा भइरहेको हत्या हिंसा तत्काल बन्द गर्न आग्रह गर्नुभयो । बढ्दो हत्या हिंसाका कारण लाखौ सर्वसाधारण अन्य मुलुकमा शरणार्थीको रुपमा विस्थापित भइरहेको बताउँदै खनालले यस्तो कार्यबाट विश्वका श्रमजिवी वर्ग प्रत्यक्ष प्रभावित बनेको उल्लेख गर्नुभयो ।

नेपालका विभिन्न ८ वटा ट्रेड युनियनका तर्फबाट बुधवार सम्बोधन गर्दै काउन्सिल सदस्य खनालले शान्तिपूर्ण रुपमा बाच्न पाउने नागरिकको अधिकारका लागि बिश्वव्यापी अभियानको खाँचो रहेकोमा जोड दिनुभयो ।

नेपालको पुँजीवादी अर्थ नीतिका कारण रोजगारका अवसर संकुचित भएको प्रसङ्ग जोड्दै उहाँले ४० लाख भन्दा बढि नेपाली युवा–युवती बैदेशिक रोजगारमा जान बाध्य भएको बताउनुभयो ।

पेशागत महासंघ नेपालका बरिष्ठ उपाध्यक्ष समेत रहनु भएका खनालले आप्रवासी श्रमिकलाई अन्तर्राष्ट्रिय श्रम संगठनबाट पारित सुबिधा र अधिकार कार्यान्वयनमा बिश्वब्यापी अभियानको खाँचो औल्याउनुभयो । मंगलबारदेखि शुरु भएको बैठकले विश्वभरका श्रमिकहरुले भोगिरहेका समस्या पहिचान गर्ने छ ।

साथै विभिन्न मुलुकमा सञ्चालनमा भएका श्रमिक आन्दोलनको समिक्षा गर्दै सन् २०१८ का लागि वार्षिक कार्ययोजना पारित गर्ने बताइएको छ । सन १९४५ अक्टोबर ३ तारिखमा स्थापना भएको यो महासंघमा विश्वभरका करिव १० करोड श्रमिक आवद्ध छन् । नेपालबाट पेशागत महासंघ लगायत विभिन्न ८ वटा ट्रेड युनियन डब्लुएफटीयुमा आवद्ध छन् ।

प्रतिक्रिया दिनुहोस्