रेशम चौधरीको बयान सकियो, धरौटीमा रिहा गर्ने कि थुनामा पठाउने आजै निर्णय हुने



काठमाडौं । जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरेका टीकापुर घटनाका फरार अभियुक्त एवं कैलाली १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रेशम चौधरीको बयान सकिएको छ। बयान सकिएसँगै थुनछेक बहस सुरु भएको हो। कानुन व्यवसायीको वहसपछि आजै धरौटीमा रिहा गर्ने कि थुनामा पठाउने निर्णय हुनेछ।

जिल्ला अदालतका न्यायाधीश पर्शुराम भट्टराईको इजलासमा सरकारी वकिलहरुले बयान लिएका थिए। चौधरीको पक्षमा अधिवक्ता गंगाराम पाध्याय, गजेन्द्र केसी र मिलन राईले बहस गर्नेछन्। बहसपछि अदालतले सामान्य तारिख, धरौटीमा रिहा गर्ने वा थुनामा राख्न आदेश दिनेछ।

धरौटीमा रिहा गरे उनले प्रतिनिधिसभाको सांसदको रुपमा फागुन २० मा सपथ लिन पाउनेछन्। पुर्पक्षका लागि थुनामा पठाएमा सपथ गर्न र संसदको पहिलो बैठकमा भाग लिनबाट बञ्चित हुनेछन्।

थरुहट आन्दोलनका क्रममा टीकापुरमा प्रहरीसहित ८ जनाको हत्या भएको घटनाका मुख्य अभियुक्त ठानिएका रेशमलाल चौधरीले आइतबार बिहान सवा ११ बजे जिल्ला अदालत कैलालीमा आत्मसर्मपण गरेका हुन्।

अहिले अदालत बाहिरको सुरक्षा व्यवस्था कडा पारिएको छ। सुरक्षाका लागि नेपाल प्रहरीको टोली खटाइएको छ। प्रहरी उपरीक्षक विनोद शर्मा घिमिरे आफैं अदालत पुगेका छन्।

०७२ भदौ २७ मा थरुहट आन्दोलनका क्रममा टीकापुरमा नेपाल प्रहरीका एसएसपीसहित ७ सुरक्षाकर्मी र एक बालकको ज्यान गएको थियो। उक्त घटनामा चौधरीलाई मुख्य अभियुक्तका रुपमा सरकारी वकिलको कार्यालय कैलालीले कर्तव्य ज्यान मुद्दा दायर गरेको थियो। घटना लगत्तै फरार रहेका उनले मंसिर २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा वारेसनामाबाट उम्मेदवारी दिइ जित हात पारेका थिए।

निर्वाचन मार्फत सांसद चुनिए पनि निर्वाचन आयोगले प्रमाणपत्र दिन अस्वीकार गरेपछि उनी वाध्य भएर अदालत उपस्थित भएका हुन्। अदालत उपस्थित नभई सिधै संसद जाने प्रयास समेत चौधरीले गरेका थिए। चौधरीले विजयीको प्रमाणपत्र नदिने निर्वाचन आयोगको निर्णय विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए। सर्वोच्चले चौधरीलाई विजयीको प्रमाणपत्र लिन पाउने सुविधा नदिने आदेश दिएको थियो।

प्रतिक्रिया दिनुहोस्