कांग्रेस संसदीय दलको विधान पारित



रामकृष्ण चापागाईं, काठमाडौं ।

नेपाली काग्रेस केन्द्रिय समितिको बैठकले संसदीय दलको विधान पारित गरि सम्पन्न भएको छ । आइतवार बसेको बैठकले संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाउन चीनकाजि श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति पनि गठन गरेको छ । जसमा नविन्द्रराज जोशी र भिष्मराज आङदम्बे सदस्य रहेका छन् । सांसदहरुले सपथग्रहण गरेपछि मात्र संसदीय दलको नेता छनौट हुने निर्वाचन समितिले जनाएको छ ।

बैठकमा हालै सम्पन्न निर्वाचनको समिक्षा भने भएन् । पार्टी सभापति शेरवहादुर देउवाले बस्ने केन्द्रिय समिति बैठकमा विस्तृत रुपमा निर्वाचनको छलफल गरिने बताउनु भएको छ । पार्टी सुदृढिकरणका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल र नविन्द्रराज जोशीले छुट्टा छुट्टै एजेण्डा प्रस्तुत गरेपनि सभापति देउवाले अर्को बैठकमा छलफल गर्ने बताउनु भएको थियो ।

गत पुसको पहिलो साता बसेको केन्द्रिय समिति बैठकले हारको समिक्षा गर्न एक महिना भित्र प्रत्येक जिल्लाबाट हालै सम्पन्न निर्वाचनको समिक्षात्मक प्रतिवेदन माग गरिएको थियो । त्यतिवेला जिल्लाको प्रतिवेदन हेरर केन्द्रिय समिति बैठकमा निर्वाचनमा भएको हारको विस्तृत समिक्षा हुने बताइएको थियो । काग्रेस केन्द्रिय समिति बैठकको निर्णयमा भनिएको थियो– आगामी केन्द्रीय समितिको निर्वाचन समिक्षा बैठकमा प्रस्तुत गर्नका लागि पार्टीका गाउँ, नगर, क्षेत्र, जिल्ला कार्यसमितिले सम्बन्धित तहको बैठकमा भएको समिक्षा तथा निर्णय सहित प्रदेशसभा र प्रतिनिधिसभा प्रत्यक्ष तर्फका पार्टीका उमेद्वारले एकमहिना भित्र लिखित प्रतिवेदन पेश गर्न निर्देश गर्ने ।

आइतवार सम्पन्न बैठकमा धारणा राख्ने क्रममा केन्द्रिय सदस्यहरुले पार्टीलाई संविधानको स्पिरिड अनुसार अघि बढाउनुपर्ने भन्दै पार्टी विधान संशोधनको लागि महासमिति तत्काल महासमिति बैठक आव्हान गर्न समेत माग गरेका थिए । मुलुकको संविधान अनुरुपको पार्टी संरचनामा अत्यावश्यक हेरफेर गर्न पार्टीको विधान संशोधन गर्नुपर्ने भन्दै पार्टीका सवै संगठनात्मक संरचना र तह तथा भ्रातृ एवं शुभेच्छुक संघ–संस्थाहरुलाई थप सुदृढ, गतिशील र सशक्त बनाउनका लागि नयाँ योजना र कार्यक्रमहरुका साथ हामी अघि बढ्ने पुस पहिलो सात बसेको केन्द्रिय कार्यसमिति बैठकले निर्णय गरिसकेको थियो ।

आइतवारको बैठकले संसदीय दलको परिमार्जित विधान पारित गर्नुका साथै निर्वाचन समिति बनाउने मात्र निर्णय गरेको छ । सांसदहरुको सपथग्रहण कार्यक्रम २० गते भएकोले काग्रेस संसदीय दलको नेता छनौट २० गते पछि मात्र हुने छ । संसदीय दलको नेतामा सभापति स्वयंले आकाक्षा राख्नु भएको छ ।

काग्रेस भित्र पौडेल पक्षले सभापति देउवाले दलको नेतामा आकाक्षा देखाउन नहुने बताउदै आएका छन् । प्रतिनिधिसभामा ६३ सदस्य रहेको काग्रेस भित्र देउवा पक्षका सांसद धेरै छन् । संसदीय दलको नेतामा सभापति देउवाले नछोडे प्रकाशमान सिंहलाई उठाउने तयारी भैरहेको छ । सर्वसम्मत भए पौडेल पक्षबाट महामन्त्री डा. शशांक कोइरालाले अघि बढ्ने बताइदै आएको छ । तर सभापति देउवा पनि सके सर्वसम्मती नभए चुनावबाट भएपनि आफै संसदीय दलको नेता बन्ने तयारीमा छन् ।

प्रतिक्रिया दिनुहोस्