झण्डै एक महिनादेखि अनसन जारी

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज । यही माघ ३ गते बसेको मंत्री परिषदको बैठक बस्नुभन्दा अगाडि नै वीरगन्जमा आन्दोलन जारी थियो । मुलुकको प्रमुख प्रवेशद्वार मानिएको वीरगन्जको घण्टाघरमा एकथान मानिसहरु आन्दोलन स्वरुप अनसनमा बसिरहेका थिए।

शीत लहरको कुनै प्रर्वाह नगरी राजनीतिक दलका नेताहरु सहित स्थानीय सामाजिक अगुवाहरुको अनसनमा सहभागिता थियो । वीरगन्जमा पुसको लगभग तेश्रो साताबाट शुरु गरिएको रिले अनसन सोमबार २७ औं दिनसम्म आइपुग्दा पनि जारी छ । वीरगन्जलाई २ नम्बर प्रदेशको राजधानी धोषणा गरियोस भनेर जारी राखिएको अनसन जब माघ ३ गतेको मंत्री परिषदको बैठकले जनकपुरलाई २ नम्बर प्रदेशको अस्थायी राजधानी घोषणा ग¥यो तब आन्दोलकारी र अनसनकारीको मन बिक्षिप्त बन्यो ।

जनकपुर नभइ कुनै बीच भागमा २ नम्बर प्रदेशको राजधानी घोषणा गरिएको भए आन्दोलन स्थगित पनि हुन सक्थ्यो जुन ठाउँ वीरगन्जवासीले चाहन्थेनन् त्यही ठाउँ राजधानी घोषणा भएपछि आन्दोलनकारीहरु अनसन लम्बाउन बाध्य भएको तरुण दल बाराका अध्यक्ष एवम् संघर्ष समितिका सदस्य लुकेश सिंहले बताए । खासगरी वीरगन्ज क्षेत्रका स्थानीयहरु जनकपुर २ नम्बर प्रदेशको राजधानी मान्न कुनै हालतमा पनि तयार नभएको उनी बताउछन् । वीरगन्जका लागि जनकपुर पायक पर्ने स्थान नभएका कारण पनि बिरोध भएको आन्दोलनकारीहरुको तर्क छ ।

राजधानी माग गर्दै शुरु गरिएको आन्दोलन स्वरुप वीरगन्जको घण्टाघरमा रिले अनसन जारी राखिएको छ । अनसनमा नागरिक समाज,बिद्यार्थीदेखि पत्रकार र स्वयम् राजनीतिक दलका नेता कार्यकर्ताहरुको पनि सहभागिता रहेको छ । यद्यपी मधेशवादी दलका नेता कार्यकर्ताहरुको भने खासै सहभागिता देखिएको छैन । मधेशवादी दलहरु जनकपुरलाईनै प्रदेश राजधानी मान्न तयार भएपनि अन्य दल भने तयार नभएको राजनीतिक बिश्लेषकको तर्क छ ।

बिश्लेषक बीरेन्द्र यादवले रिले अनसन आन्दोलनकारीहरुका लागि भने घांडो भएको तर्क गर्दछन् । बिना सहमति वा कुनै आधारबिना आन्दोलन स्थगित गरिदा संघर्ष समितिमाथि बिभिन्न आरोप लाग्ने भएकाले आन्दोलनको सौहाद्र्धपूर्ण अवतरण चाहेको भएपनि आन्दोलनकारीहरुको भावनाको संबोधन हुन नसक्दा समस्या बल्झिएको उनको तर्क छ । मधेशवादी दलहरुका नेताहरुले नै वीरगन्ज राजधानी हुन नसक्ने बताएका कारण अब २ नम्बर प्रदेशको राजधानी वीरगन्ज घोषित हुने संभावना कम रहेको तर्क समेत राजनीतिक बृत्तमा गरिएको छ ।