​बैंकलाई ५ करोड ठग्ने जग्गा व्यापारी सिआईबीको फन्दामा

0
Shares

काठमाडौं ।  बैंकिङ कसुर मुद्दामा फरार रहेका एक  जग्गा व्यापारी पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले विमल खड्कालाई पक्राउ गरेको हो।
उनी सात्विक डेभलपर्सका मालिक हुन्। सोही कम्पनीबाट कर्जा लिएर उनले पैसा नतिरेका हुन्।
उनलाई पुनरावेदन अदालत पाटनले तीन वर्ष कैद र  पाँच करोड ७५ लाख रुपैयाँ जरिवानाको फैसला गरेको थियो। क्यापिटल मर्चेन्ट एण्ड फाइनान्सका कर्मचारीलाई घुस खुवाएर कमसल धितो राखी उनले कर्जा लिएका थिए। कर्जा नतिरी उनी फरार भएका थिए।

काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदी घर भएका ३४ वर्षीय विमल खड्कालाई गएराति प्रहरीले चितवनमा पक्राउ गरेको हो । उनलाई भरतपुर महानगरपालिका–१२ गोन्द्राङबाट पक्राउ गरी अदालतमा बुझाइएको सिआईबीका एसपी जीवनकुमार श्रेष्ठले बताए।

२०७१ असोज १ गते पुनरावेदन अदालत पाटनले तीन वर्ष कैद र  पाँच करोड ७५ लाख रुपैयाँ जरिवानाको फैसला भएको थियो।

कर्मचारी र संचालककै मिलेमतोमा क्यापिटल फाइनान्समा करोडौं घोटाला भएको थियो। जसमा एक दर्जन जेलमा छन्। मुख्य अभियुक्त पवन कार्की भने अमेरिकामा छन्। उनलाई नेपाल ल्याउने प्रहरीको प्रयास सफल हुन सकेको छैन।